फोन कुर्दाकुर्दै सहरमा साँझका बत्तीहरु बल्न थाले । चराचुरुंगी, मानिसहरु वासस्थानहरु दौडिन थाले । उता ल्यामपोस्टमा बत्तीहरु झलमल बल्न थाले । यता मेरो मन भने झन् झन् अध्याँरिँदै जान थाल्यो । आत्तिन थाल्यो, बेचैनी झन् झन् बढ्न थाल्यो ।
राती सुत्दा पनि फोन अफ गरिनँ । पटकपटक मोबाइल उठाएँ, हेरेँ । अँह उनको फोन आएन ।
भित्तामा झुन्डिएको घडीले रातको ११ बजाएपछि फोन आउने आशा मारेँ । बेचैनी मिसिएको लामो सास तानेँ । तर ती निर्दोष तीन जोर आँखाले मलाई हेरिरह्यो, बोलाइरह्यो । खिरिला नारी, पोषण नपुगेको शरिर, ननिदा आँखा, नकोरिएको कपाल, मैलो कपडा यी सबैले मलाई रातको अध्यारोमा कतै परबाट बोलाइरहेझैँ लागिरह्यो ।
उनीहरुलाई सम्झिँदा सम्झिँदै कल्पनामा कता कता पुगेँ । कतिपय कल्पना यति अप्रिय थिए कि आफ्नै कल्पनासँग आफैँ झस्किएँ । हतपत कामना गरेँ– यस्तो हुँदै नहोस् ।
एउटा कल्पनाको दुनियाँ यस्तो बन्यो :
अब तिनीहरु एकाध दिनमा कुनै नाइटबसको अन्तिम सिटमा कोचिएर विरगंज पुग्नेछन् । रक्सौलतिर अघि बढिरहँदा उनीहरुलाई लैजाने मान्छेले भन्नेछन्, ‘धेरै नबोल । कसैले केही सोधिहाले, बुवासँग इन्डिया घुम्न जान लागेको भन ।’ ती अबोध बालिकाहरुले टाउको हल्लाउनेछन् ।
भारतीय सहरमा पुगेपछि उनीहरुलाई एकाध दिन मिठै खाना दिनेछन् । केही चोकहरु घुमाउँनेछन् । त्यसपछि एकाएक उनीहरुको दैनिकी बदलिने छ । उनीहरु ढल गनाउने कुनै बन्द चारदिवारभित्र बन्दी हुनेछन् । दिनमा एकपटक खान पाउनेछन् । उनीहरुजस्तै बन्दी बालिकाहरुसँग उनीहरुको भेट हुनेछ । सबैभन्दा अग्ली, तरुनी देखिएकी बालिकालाई गेटबाट घिस्याउँदै लगेको उनीहरुले देख्नेछन् । अनि पो आफू बेचिएको बुझ्नेछन् । त्यसपछि आमा सम्झिँदै तीन दिदीबहिनी बेस्सरी रुनेछन्, चिच्याउनेछन्, हामीलाई नेपाल पुर्याइदेउ, मेरो आमालाई बोलाइदेउ भन्दै उनीहरु चिच्याइरहनेछन्, कराइरहनेछन् । तर उनीहरुको आवाज चार दिवारभित्रै ठोकिएर फर्किनेछ आफैतिर ।
उनीहरुलाई लैजाने मान्छे पैसा थापेर त्यहाँबाट गायव भइसकेको हुनेछ । तीन दिदीबहिनी रुँदै, कराउँदै त्यही दिवारभित्र बन्दी हुनेछन् । उनीहरुले कैयन दिनसम्म खाना खाने छैनन् । एकोहोरो ‘हामीलाई छाड्देउ, आमासँग जाने’ मात्रै भनिरहनेछन् । खाना खानै नमानेपछि चार दिवारको मालिकले उनीहरुलाई बेस्सरी कुट्नेछन् । ओँठबाट रगत बगुन्जेल, जिउमा निल डाम भइन्जेल कुटेपछि उनीहरु बेहोस हुनेछन् ।
यसरी उनीहरुको नयाँ जिन्दगी सुरु हुनेछ । उनीहरुलाई सानैमा हलक्कै बढ्ने हर्मोन खुवाइने छ । त्यसपछि सबैभन्दा पहिला १४ वर्ष पुगेकी बालिका बयस्क जस्तै देखिनेछिन् र एक साँझ उनलाई गेटबाट लतार्दै यौनबजारको दुनियाँमा लगिने छ । एकाध वर्षपछि फेरि माइली त्यो चार दिवारबाट अचानक गायव हुनेछिन् । कान्छी बहिनी दिदीहरु खोजेर निकै रुनेछिन् । केही वर्षपछि उनी पनि त्यसै गरि दिवारभित्रबाट गायव हुनेछिन् ।
जन्मदर्तासमेत नभएको तीन दिदीबहिनी, देशको बहिखातामा कुनै रेकर्ड नभएको तीन दिदीबहिनी करोडौं मानिसले भरिएको भारतीय सहरको कुनै अन्जान गल्ली, भिड र कोलाहलमा पलपल बेचिएर उतै अलप हुनेछिन् ।
कल्पनाको एउटा कथा यही अन्त्य हुन्छ ।
सहरको भिडहरुमा हिँडिँरहँदा तीनबहिनीको निदोर्ष अनुहार फेरि आँखामा ठोकिन आइपुग्छ । फेरि कल्पना गर्छु :
उनीहरु काठमाडौंको कुनै गुम्बामा एकाध दिन बस्नेछन् । कपाल मुन्डर गर्नेछन् । तीनै जनाले ऐना अगाडि उभिएर आफूलाई हेर्नेछन् । मुन्डन भएको टाउको देखेर उनीहरु न खुसी हुनेछन्, न दुखी हुनेछन् । त्यसपछि गेरूवस्त्र लगाइदिने छन् । सुरुसुरुमा उनीहरुलाई गेरूवस्त्र निकै असजिलो हुनेछ । विस्तारै बानी पार्नेछन् । गुम्बा भित्रका नियमहरु सुन्नेछन् । कतिपय नियम सुनेर जिब्रो टोक्नेछन् । भक्तपुरका चोक र गल्लीहरुमा फुक्का फाल हिँडेको, आमासँग पैसा मागेर चटपटे खाएको, सडकमा आफूजस्तै बालबालिकाहरु स्कुल बसमा चढेर गइरहेको, आफूहरु चाँही झोलामा किताब बोकेर भिड छिचोल्दै स्कुलतिर गएको उनीहरुले खुब सम्झिरहनेछन् ।
एकाधदिनपछि उनीहरुलाई टुरिस्ट बसमा चढाएर भारत तर्फ लगिने छ । त्रिशुलीको किनारै किनार एकोहोरो झ्यालमा बसेर हेरिरहँदा ठूलीको आँखाबाट अनायासै आँशु खस्ने छ । कान्छी बहिनी आमा, आमा भन्दै रुनेछिन् । माइली बहिनी विलखबन्दमा परेर टोलाइरहनेछिन् ।
टुरिस्ट बस अनि लामाहरु देखेपछि गाडीलाई खासै रोकतोक हुने छैन । उनीहरु सरासर भारतको कुनै एकान्त कुनामा रहेको गुम्बामा पुग्नेछन् । उनीहरु बस्ने बासस्थान देखाइने छ । उनीहरु त्यही बसेर पढ्न थाल्नेछन् ।
सुरुसुरुमा ज्यामी आमाको सम्झनाले तीन दिदीबहिनी सँधै भेटेर खुब रुनेछन् । तीन जनासँगै राख्दा नपढेको, रोइमात्रै रहेको भन्दै गुम्बाका अधिकारीहरुले उनीहरुलाई अलग अलग ब्लगका राख्नेछन् ।
ठूली र माइली ६ कक्षा पढ्दै गरेको, कान्छीले ३ कक्षा पढेकाले उनीहरुले सुरुसुरुमा लामा अक्षर सिक्नै सक्ने छैनन् । एकातिर आमाको सम्झना, अर्कोतिर गाह्रो पढाइ माइली पटकपटक भाग्ने कोसिस गर्नेछिन् । कान्छी बहिनीको मायाले ठूली भाग्न सक्दिनन् ।
‘एकदिन त भाग्छु भाग्छु, यस्तो नियम सियम मानेर पढ्न सक्दिनँ’ भन्दाभन्दै उनीहरुको दिन बित्ने छ, महिना बित्ने छ, वर्षहरु वित्नेछन् । अन्तिममा उनीहरु त्यहीको जीवनमा अव्यस्त हुनेछन् ।
जब उनीहरुले गुम्बाको पढाइ सक्नेछन्, त्यसपछि सोधिने छ, ‘अब के गर्छौ ? बिहे नगरी आनी बनेर जीवन बिताउँछौ कि बिहे गरेर सांसारिक जिन्दगी बिताउँछौ ?’ तीन दिदीबहिनीले धेरै दिनसम्म छलफल गर्नेछन् । कहिले आमाले भोगेको जिन्दगी सम्झेर बिहे नै नगर्ने निष्कर्षमा पुग्छन् । कहिले विहे गरेर घरजम गर्ने निष्कर्षमा पुग्छन् । अन्तिममा ठूली र माइलीले गुम्बामै रोज्नेछिन्, कान्छीले सांसारिक दुनियाँ रोच्नेछिन् ।
तिनै दिदीबहिनी ठूली भएर ज्यामी आमा खोज्दै नेपाल आउनेछन् । तर ज्यामी काम गर्दागर्दै रोगले गलेकी आमा निकै वर्षअघि नै संसारबाट विदा भइसकेको हुनेछ । बालखैमा आमाले जामा किनिदिएको, तीन दिदीबहिनीले चटपटे खाएको, स्कुलको झोला बोकेर हिँडेको चोकहरु दिनभरि घुमेर उनीहरु कुनै एकान्त डाँडामा जानेछन् र आमाको सम्झनामा राती अबेरसम्म रुँदै बस्नेछन् ।
मान्छेको भविष्यका रेखाहरु कोरिदिने म कस्तो पटमुर्ख ! अब यही बन्द गर्छु उनीहरुको भविष्यबारे कल्पना गर्न । उनीहरुको जिवन र मेरो कल्पना कसै गरि पनि मेल नखाओस् ।
०००
यति लेखेपछि अब उनीहरु को हुन् ? त्यसबारे लेख्छु ।
हिजो बिहान काम विशेषले आफन्तलाई भेट्न भक्तपुर गएको थिएँ । त्यहाँ ८/९ वर्षकी एकजना नयाँ बच्ची देखेँ । उनको बारेमा सोध्दै खोज्दै जाँदा थाहा पाएँ उनीहरुको जीवन कथा ।
उनी कान्छी बहिनी रहेछिन् । उनीभन्दा माथि दुई दिदीहरु रहेछन्, एउटी ११ वर्षकी, अर्की १४ वर्षकी । उनी आफू ९ वर्षकी । उनीहरुको घर मकवानपुर । थर तामाङ । तीन दिदीबहिनी अहिले आमासँग बस्दै आएका रहेछन् । उनीहरुको बुवा भन्ने पुरुष कान्छी छोरी २ वर्षको हुँदा अर्कै बिहे गरेर हिँडेछ । त्यसपछि आमा एक्लैले तीन छोरीलाई हुर्काइन् । गाउँमा हुर्काउन असजिलो भएपछि उनीहरु सहर पसे । भक्तपुरमा बसेर ज्यामी काम गर्दै छोरीहरु हुर्काउन थालिन् । उता पुरुषलाई भन्दा कम ज्याला, यता तीन छोरीहरुको भविष्य । कोठाभाडा तिर्नुपर्ने, खानुपर्ने, छोरीहरुलाई पढाउनुपर्ने । सबै बोझ एक्ली आमाले उठाउन सकिनन् । त्यसपछि एकदिन आमाले साह्रै अप्रिय निर्णय लिइन् ।
चार दिवारमा बत्तीहरु जागै राखेर सहर निदाउने तर्खरमा थियो । डान्सबार, डिस्को र दोहोरी साँझहरु मदहोसी मुडमा झुम्दै थिए । गैंची बेल्चासँग मनका भावनाहरु साटेर लखतरान भइ डेरामा आइपुगिन् आमा । छोरीहरु निन्याउरो मुख लगाएर सँधै झैं आमाको हातमा खानेकुरा हेरिरहेका थिए । त्यही साँझ जीवनदेखि हार्न बाध्य, थाक्न बाध्य आमाले जाउलो पकाइदिइन् । ठेला फुटेर पनि साह्रो भइसकेको हत्केलाले तीन छोरीहरुलाई बटुकोमा जाउलो पस्की दिइन् । एउटा बटुकोमा आफ्नो लागि पस्किइन् । अनि चारैवटा बटुकोमा नुन जस्तो एउटा वस्तु मिसाइन्, त्यो वस्तु विष थियो ।
दिनभरी भोको छोरीहरुले भकाभक खाए । आमाले पनि भकाभक खाइन् । ठूली छोरीले एक गाँस खाए अनि तितो महसुस भएपछि खान रोकिइन् । जालो सकाउनेहरु बेहोस भए । मुखबाट फिँज निकाल्न थाले । ठूली छोरी चिच्याइन्, कराइन् । छरछिमेकीहरु जम्मा भए । पुलिस र एम्बुलेन्स बोलाएर हतार हतार उनीहरुलाई अस्पताल लगियो । कान्छी बहिनी र आमा धन्न बाँचिन् तर माइलीको होस नै आएन । कैयन दिन आइसियुमा राखेर उपचार गरेपछि बल्ल माइलीको होस् खुल्यो ।
त्यो घटना सार्वजनिक हुने वित्तिकै राज्यले एउटा छानविन समिति बनाउनु पथ्र्यो । आफैले जन्माएको छोरीहरुसँगै आत्मदाह गर्न खोजेकी महिलालाई राज्यले विशेष निगरानी गरी, उनको समस्या तुरुन्तै समाधान गर्नुपथ्र्यो र उनको बाध्यतालाई समाजको तितो उदाहरण मानेर ती विवस बनाइएका आमाहरुको पक्षमा तुरुन्तै विशेष विद्ययेक नै लागु गर्नुपथ्र्यो । तर राज्यले ती ‘सिंगल मदर’ले लिएको अप्रिय निर्णयको कुनै कारण खोतल्न आवश्यक नै ठानेन । बरु उल्टै किन छोरीहरुलाई मार्न खोजिस् ? किन उनीहरुको बाँच्न पाउने हक छिनिस् भन्दै जेल हाल्यो । गरिबीको दलदलमा फसिरहेको आमाको हातले सहयोग खोजेको थियो, राज्यले हतकडी लगाइदियो ।
एकाध महिना जेल सजाए भोगेर आमा निस्किइन् । त्यसपछि उनी अब कठोर बन्न थालिन् । अब जिवनदेखि नहार्ने अठोट गरिन् । तमासा हेर्ने समाज, उल्टै हतकडी लगाउने राज्यसँग नझुक्ने भन्दै बिहान ६ बजेदेखि राती ७ बजेसम्म ज्यामी काम गरेर छोरीहरुलाई पढाउन थालिन् । सँगै काम गर्ने ज्यामी महिला साथीले भनिन्, ‘तिम्रो एउटी छोरीको पढ्ने खर्च सबै म ब्यहोर्छु ।’ उनले खुसी भएर साथीको हार्दिकता स्वीकारिन् ।
जीवन जेनतेन ठिकठाक चल्न थाल्यो । दुःख त थियो नै तर छोरीहरु खुरुखुरु पढिरहेको देखेर उनी भित्रभित्रै मख्ख पर्थिन् । गिट्टी बालुवा र सिमेन्टीमा पसिना बगाइरहँदा छोरीहरु ठूली भइ जागिर खाएर आफूलाई मन पर्ने कपडाहरु किनिदिएको कल्पना गर्थिन् । घोलेको सिमेन्टी बोकेर ढलानमा हालिँदा उनी उस्तै मुस्कुराएको देखेर साथीहरु छक्क परेका पनि थिए ।
समय–साल सँधै ती आमाको पक्षमा रहेन । बामे सर्दै गरेको जिन्दगीमा एउटा घुम्ती आइलाग्यो, जुन घुम्ती उनले पार गर्नै सकिनन् । त्यो घुम्तीमा पुगेपछि उनको मनभित्र गुम्सिएको प्रेम अंकुरायो, यौवन अंकुरायो ।
भर्खरै ४० नाघेकी उनका आँखा सँगै ज्यामी काम गर्ने एकजना पुरुषको आँखामा पुगेर अडियो । श्रीमानबाट अत्याचार व्यहोरेको उनले सुरुमा वास्ता गरिनन् । टारिदिइन् । तर जति नै टार्न खोजे पनि त्यो पुरुषको छायाले उनलाई पच्छाउन छाडेन । छायाँले पच्छ्याउन नछाड्नु भनेको नकार्न नसक्नु, टार्न नसक्नु र टाढा भाग्न नसक्नु रहेछ । विस्तारै दुई छायाको भेट भयो ।
विगतको यातानामय दिनहरु सम्झिइन्, अनि आफ्नो ४० भर्खरै नाघेको जीवन सम्झिइन् । छोरीहरुको पढाइ सम्झिइन् अनि प्रेम महसुस नै गर्न नपाएको विगत सम्झिइन् । ती पुरुषले छोरीहरुलाई माया दिने वाचा सम्झिइन् अनि छोरीहरु पढाउन, हुर्काउन सघाउ पुग्ने पल सम्झिइन् । यसरी ती पुरुषसँग उनको प्रेमसम्बन्ध बाँधियो ।
प्रेम बन्धन पनि रहेछ । स्वार्थको हतकडी मनभित्र राखेर गरिने प्रेमहरु बन्धनमा पुगेर टुंगिने रहेछन् । बेघर प्रेमी उनीहरुसँगै आएर बस्न थाल्यो । जब उनीहरुको प्रेम विवाहमा परिणत भयो तब छोरीहरुको दुःखको अर्को अध्याय सुरु भयो ।
मजदुरको डेरा, सहरको महंगाइ, अनि सहरको कमाई । साथमा कमाउन नसक्ने तीन छोरीहरु । अब साँधुरो कोठामा आमाछोरीका मायालु गफहरु हुन छाडे, दुःख भूल्ने सपनाका, योजनाका कुराहरु ठप्प भए । बरु छोरीहरुलाई त्यो नयाँ लोग्नेले आधा रातमा कुुट्न थाल्यो । छोरीहरुले कुटाइ खाएको एकरात घरबेटीले अल्टिमेटम दियो, ‘भोलि नै खुरुक्क कोठा छाडेर गइहाल् ।’
५ जनाको जहान बोकेर बास खोज्दै कहाँ जाने ? सहरमा घर बनाउन पो मजदुर चाहिन्छ, घर बनिसकेपछि मजदुरलाई कसले दिन्छ बास ? आफैले बनाएको घरहरुमा कोठा खोजे, अँह उनीहरुले कोठा पाएनन् । कोठा खोजिरहँदा नयाँ लोग्नेले गरिबीबाट उम्कने एउटा उपाय फुरायो–छोरीहरुलाई अलग गर्ने । उसले कताकताबाट गुम्बामा पठाउने बन्दोबस्त नै मिलायो । त्यो कठोर निर्णय लिन लोग्नेले उनलाई बाध्य बनायो ।
अब आमालाई ठूलो दुविधा पर्यो । छोरीहरुको पक्षमा लागुँ श्रीमान नहुने, श्रीमानको पक्षमा लागु छोरीहरु नहुने । उनले आफ्नो बाँकी जीवन सम्झिन् अनि कठोर निर्णय लिन बाध्य भइन्, छोरीहरुलाई अलग गर्ने ।
नयाँ लोग्नेले छोरीहरुलाई सुनायो,‘अब तिमीहरु गुम्बामा गएर पढ्ने । त्यही खान पाइन्छ मिठो मिठो । तिमीहरुलाई लिन भोलि गाडी आउँछ ।’
०००
छिमेकीबाट र ती कान्छी छोरीबाट उनीहरुको सबै कथा सुनेँपछि तुरुन्तै उनको आमालाई भेट्न गएँ ।
प्लस्टर नगरिएको, झ्यालमा बोराको टुक्रा झुन्डिएको, ढोकामा कुनै पर्दा समेत नभएको घाम नलाग्ने कोठाबाट एउटी महिला बाहिर आइन् । ख्याउटे गाला, दुब्लो ज्यान भएकी उनी मोक्तान थरकी थिइन् । उनलाई नमस्ते भन्दै तामाङ भाषामा बोल्न सुरु गरेँ । उनले मेरो एकसरो परिचय सोधेपछि आफ्नो विवसताहरु पोख्न थालिन् । ‘अब भोलि बिहान गाडी आउँछ । तपाईं हिजो आस्ती नै आउनु पार्दैना ?’ यो शब्द विवस आमाको अन्तरहृदयको आवाज थियो । मैले भनेँ, ‘आजै मात्र थाहा पाएँ दिदी ।’
आफूले मात्रै निर्णय गर्न नसक्ने भन्दै उनले नयाँ श्रीमानलाई बाहिर बोलाएर ल्याए । होचो कद, ओठमुनी छुस्स दारी पालेको ३० वर्ष आसपासको एकजना ठिटा अगाडि देखियो । उसको अनुहार रिसाइरहेको थियो । उसलाई भोलिको योजना क्यान्सिल गर्न भनेँ । उसले हुँदै हुँदैन भन्यो ।
उसले जिकिर गरिरह्यो,‘गुम्बामा छोरीहरुको भविष्य राम्रो हुन्छ ।’
मैले भनेँ, ‘६ कक्षासम्म पढिरहेको छोरीहरुले गुम्बामा भन्दा बाहिरकै दुनियाँमा राम्रो गर्न सक्छ ।’
मैले फेरि भनेँ,‘यतैको गुम्बामा राख्ने कि बाहिर पठाउने हो ?’
उसले भन्यो, ‘एकदुई दिन स्वयम्भूतिर राखेर इन्डिया लैजान्छ ।’
मानवतस्करको बिगविगी सम्झिँदै सशंकित हुँदै भने, ‘इन्डियामा कुनै गुम्बामै पुग्छ भन्ने के ज्ञारेन्टी ? छोरीहरु बेचिन पनि सक्छ नि ।’
उसले रिसाउँदै भन्यो, ‘त्यस्तो हुँदैन । मेरो आफन्त पहिला नै भारतको गुम्बा पढिरहेको छ ।’
उसले मान्दै मानेन । अन्तिममा भनेँ,‘तीन जना नानीहरुलाई प्लसटुसम्म पढाउने कोही मनकारी मान्छे पक्कै भेटिन्छ । म खोज्छु । तर भोलि नपठाउनु ।’ न्यु लोग्नेले मलाई आँखा तरेर हेर्यो । नानीहरुकी आमा मलाई हेरिरहेकी थिइन् । तर बोल्न सकिरहेकी थिइनन् । अन्तिममा मैले भिजिटिङ कार्ड दिँदै भनेँ, ‘दिदी, म नानीहरु पढाउने मान्छे खोज्दै गर्छु । तपाईंहरु गुम्बामा पठाउने कि स्कुलमै पढाउने निर्णय गरेर भरेसम्म मलाई फोन गर्नु ।’ ती महिलाले कार्ड हातमा लिँदै भनिन्, ‘सल्लाह गरेर भरेसम्म फोन गर्छु भाइ ।’
दिदीसँग विदा हुने वित्तिकै डा.भावना तामाङलाई भेटेँ । उनीहरुको कथा सुनेर भावना भावुक भइन् । उनले हिम्मत दिँदै भनिन्,‘तीनजना प्लसटुसम्म पढाउने मान्छे म जसरी पनि खोज्छु, ढुक्क हुनु ।’
दिदीको फोन दिनभरि कुरिरहेँ, आएन । घाम डुब्यो आएन । साँझ झमक्कै पर्ने बेला भावनाले फोन गरेर भनिन्,‘स्कुलमै बस्ने/पढ्ने गरि प्लसटुसम्म पढाइदिने मान्छे भेटियो । उनीहरुलाई खबर गर्नु ।’
ती दिदीको कोठा छेउको मेरो आफन्तलाई गएर यो खबर गर्नु भनेँ । उनले खबर गरिन् । तर पनि ती दिदीको फोन आएन ।
०००
मनमा उकुस मुकुस नअटेपछि बौद्ध दर्शन अध्ययनमा अभिरुची राख्ने एकजना साथीलाई यो कुरा सुनाएँ । उनको उत्तर आयो, ‘भोकै मर्नुभन्दा गुम्बामा गाको ठिक ।’ मैले फेरि भनेँ, ‘ती नानीहरु गुम्बामा विद्या सिक्न जान्छन् नै भन्ने केही ज्ञारेन्टी छ र ? के दुःखबाट मुक्ति हुने एउटै उपाय धर्मको शरणमा पर्नु हो र ?’ एकछिन मौन रहेपछि उनको उत्तर आयो, ‘त्यो त हो । हाम्रो यथार्थता कति फरक छ है !’
उनको अघिल्लो उत्तरले झनै सोचगग्न भएँ । के दुःखको मुक्ति कुनै धर्मले गर्न सक्छ ? संसारमा धर्म दुःखको कारक हो कि निवारक हो ? चर्च, गुम्बा, मस्जित, मन्दिरहरुमा सबै दुःखीहरु जम्मा भएर प्रार्थना गरे के दुःखबाट मुक्ति मिल्छ ? अँह पटक्कै मिल्दैन । धर्म, राज्य, देश सबै दुःखका कारकहरु हुन् । यस्ता ‘थ्रि सिस्टर्स’ समाजमा कति छन् कति । विवस बन्न बाध्य ती ज्यामी महिलाजस्ता आमाहरु कति छन् कति । ‘थ्रि सिस्टर्स’ यही थोत्रो समाज व्यवस्थाको उपज हो । उनीहरु एक उदाहरण मात्रै हुन् । यस्तो संरचना पूरै नभत्काएसम्म त्यस्ता बिवस आमाहरु, निर्दयी पुरुष लोग्नेहरु र अन्धकारमा हिँड्न बाध्य छोरीहरु जन्मिरहेनछन् ।
अब यो लेखोट यही टुंग्याँउछु । यति खेलेपछि क्षणिक नै सही मनमा केही सान्त्वना मिलेको छ । यति लेखेर राखेँ भने कुरुप समाजको चित्र लेख्य रुपमा सदा सुरक्षित रहनेछ ।
प्रिय ‘थ्रि सिस्टर्स’ मेरो सानो कोसिसले तिमीहरुको जीवनयात्रा अन्तै मोडिन सक्थ्यो । तर मैले सकिनँ, मलाई क्षमा गरिदेउ ।
तिमीहरुको वास्तविक नाम उल्लेख नगर्नु नै श्रेयकर ठानेँ । मैले कल्पना गरेजस्तो तिमीहरुको जीवन हुँदै नहोस् । तिमीहरु जहाँ पुग्छौ संघर्ष गर्न नछाड, नझुक । यो संसार साह्रै झेली छ, पाइला पाइलामा झेलीहरु भेटिन्छन् । त्यस्ता झेलीहरु जुनसुकै मोडमा भेटिन सक्छन् । कहिल्यै नथाक, कहिले हरेस नखाउ ।
प्रिय ‘थ्रि सिस्टर्स’ सायद तिमीहरुसँग अब मेरो कहिले भेट हुने छैन । जीवनको कुनै कुइनेटोमा तिमीहरुसँग पक्कै भेट हुनेछ भन्ने आशा गरिरहनेछु ।
मलाई तिमीहरुको सम्झना सँधै आइरहनेछ ।
०००
No comments:
Post a Comment