Advertisement

Responsive Advertisement

कविता : अब नजाने नेपाल




रेलको डिब्बामा कोचिएर
बसको सिटमा खाँदिएर
देश जाँदै गरेको ए साथी !
म त नजाने नेपाल

मलाई त्यहाँ तड्पाई तड्पाई मार्छ

देशको अस्पताललाई
मुटुजस्तो खेत बुझाएँ
कलेजोजस्तो बारी सुम्पिएँ
तर सकिनँ
तङ्ग्रिएर घर फर्कन
बरू
अस्पतालको शय्मा पल्टिरहँदा
शववाहनको चालकले
हेरिरहन थाल्यो मेरै आँखामा
त्यसपछि ज्यानको भीख माग्न
आइपुगें यो बिरानो सहर

यो पराया अस्पतालको आँगन
मेरो ज्यानभन्दा गरूङ्गा यी कागजपत्रहरु
हर काउन्टर
हर कुनामा
लुटिनुपर्ने उही आदिम विवशता
लालपुर्जा नम्बर टिपेपछि
आफन्तले माया मारेको यो फोन
आफ्नो खबर आफैंले सोध्नुपर्ने यो एक्लोपन
मध्यराति दुःस्वप्नबाट ब्युँझाएर
लामो यात्रामा जाउँ भनिरहने त्यो अजनबी
बस, यस्तै यस्तैमा भइसकें अभ्यस्त

दिलबेगरको दिल्ली सहरलाई
सुम्पिसकें यो अधमरो जिन्दगी
सोमबजारका गल्लीहरुलाई
च्यात्न लगाइसकें अतीतका एल्बमहरु
वर्षा यामजस्ता यी आँसुहरुलाई
भत्काउन लगाइसकें फर्किजाने बाटो

म त नजाने नेपाल
त्यहाँ मलाई लखेटी लखेटी मार्छ

पालिकाको सरकार प्रमुख
मेरो घरबारीको कित्ता नम्बर बोकी
धाइरहेको छ मालपोत कार्लालय
मेरो ज्यानको ठेक्का लिने बिमा कम्पनी
म मर्नुअघि नै मृत्युदर्ताको प्रमाणपत्र बनाई
गरिरहेको छ जग्गा प्लटिङ
ती निजी अस्पतालहरु
जहाँ पालैपालो थुनेर मलाई
रित्तो रित्तो बनाए
हिँडेका छन् उनीहरु अझै
मेरो ठेगाना खोज्दै

रेडक्रस र ब्लड बैंकहरु
यता मेरो खुन तान्छन्
उता त्यही खुनमा मदिरा घोलेर
रातभरि ककटेल डान्स हान्छन्
डाक्टरहरु स्टेथेस्कोपले छाती जाँच्दैनन्
मेरो गोजीमा उब्रिएको
पैसाको उचाइ जाँच्छन्
नर्सहरु गरिबीले गोदेको
मेरो कुर्कुच्चाको चिरा हेरी
छिनको छिनमै बोली फेर्छन्
अनि आँखा चिम्लेर इन्जेक्सन ठोकिदिन्छन्
सेतो/निलो कोट लाउनेहरु
बाँसको घारोजस्तो सुई बोकी
मलाई सपनामा पनि लखेट्छन्

म त देश नफर्किने साथी !
त्यहाँ मलाई सुईमा उनेर मार्छ

अस्पतालका बिग्रिएका उपकरणहरु
मेरो आन्द्रामा झुन्डिएर
मसँगै यात्रा गर्छन्
प्रत्येक चोक र गल्लीमा
ढुकिरहेका मेडिकल र क्लिनिकहरु
मेरो जीर्ण शरीरलाई
किस्ता किस्तामा खुर्किन्छन्
साइरन बजाउँदै एम्बुलेन्सहरु
यो अस्पतालदेखि त्यो अस्पताल
त्यो अस्पतालदेखि यो अस्पताल
मलाई सब्जीमन्डीको माल ठानी
अनाहकमा दौडाइरहन्छन्

औषधि कम्पनीहरु
दबाईको गोली बनाउँदैनन्
मेडिकल हन्टरहरुका लागि
बन्दुकको गोली बनाउँछन्
मानव खोपडीमा पैसा गन्ने
मेडिकल माफियाहरु
नरमुन्डको माला लगाई
स्वास्थ्य मन्त्रालयको आँगनमा
मदमस्त झुमिरहन्छन्

स्वास्थ्य अधिकारकर्मीहरु
बुझ्दैनन् मेरो पीडा
हामी गरिबको श्वासनलीमा टेकेर
मच्ची मच्ची भन्छन्–
‘स्वास्थ्यकर्मीमाथि आक्रमण बन्द गर’
पार्टीहरु सुन्दैनन् मेरो व्यथा
एक हातमा सदस्यता फारम
अर्को हातमा साङ्ला बोकी
मेरो बूढीऔंलाको पछि लाग्छन्
देश चलाउनेहरुको त कुरै के गर्नु र !
मिर्गौला झिक्न चक्कु बोकेर
मेरो गाउँकै पछि लाग्छन्

निमुखालाई
कहिले बन्दुकले मार्छ
कहिले सुईले
कहिले विपत्‌ले मार्छ
कहिले व्यवस्थाले

अस्पतालहरुमा–
पछि आउँछ गरिबको पालो
अघि आउँछ मर्ने पालो

रेलको डिब्बामा कोचिएर
बसको सिटमा खाादिएर
देश जाँदै गरेका ए दिदी ! ए भाइ !

म देश फर्केर जान्नँ
यो कङ्काल अब यतै बिसाउँछु
‘समाजवाद उन्मुख’ देशलाई
फिर्ता लगिदेऊ न है एउटा नासो

यो मेरो नागरिकता

(भारतमा क्यान्सरलगायत जटिल रोगको उपचार गराइरहेका नेपाली बिरामीप्रति समर्पित) 

Post a Comment

0 Comments