Sunday, 11 September 2022

पारिजातको ‘स्कुल अफ थट’

राजेन्द्र महर्जन



नेपाली समाजको तलाउमा ठूलो तरङ्ग थियो २०३५÷३६ सालको विद्यार्थी आन्दोलन । त्यसले गज्जबसँग तरङ्गित गर्यो मेरो पढाइ र सोचाइलाई पनि । यहाँ स्कुले विद्यार्थी हुँदाको औपचारिक पढाइको कुरा गर्न खोजिएको होइन । पहिले म पनि थिएँ– प्रकाश कोविद, युधीर थापा र सुवास घिसिङका उपन्यासको पाठक । विद्यार्थी आन्दोलनको तरङ्गले छोएपछि म बनें मोदनाथ प्रश्रितका लेख र पुस्तकका पाठक अनि पारिजातका कथा र उपन्यासका अध्येता । निरंकुश पञ्चायतविरोधी राजनीतिप्रति मोह बढ्दै गएपछि ममा विप्लवी साहित्यप्रति रुचि तीव्र भयो र प्रश्रितदेखि पारिजातकहाँसम्म पुगियो । पारिजातका कथा र उपन्याससँगै उनकै अर्काे नाम ‘सुमित्रा काँडा’ का कविताका खोजीखोजी पढ्ने अनुरागी हुन थालें र आफूलाई ‘अनिदो पहाड’ का पात्रहरूसँगै जोड्न लालायित हुन थालें । हो, यसरी नै हो, तीसको दशकको आधाआधीबाट म पारिजातको ‘थट अफ स्कुल’मा प्रवेश गरेको ।

पारिजातले बोक्ने वामपन्थी राजनीति र लेख्ने प्रगतिवादी साहित्यको आफ्नै आकर्षण थियो । र, दुवैको प्रभावमा परेपछि मैले फर्कने कोसिसै गरिनँ, चाहे त्यो कोविद, थापा र अन्यको साहित्यतिर होस् या गैरजनमुखी राजनीतितिर होस् । यस अर्थमा मेरो पढाइ र सोचाइको सन्दर्भमा कोविद र थापाबाट प्रश्रित र पारिजातको साहित्यतिरको लम्काइ ठूलै फड्को थियो । हुन त सांस्कृतिक र धार्मिक विषयबारे प्रश्रितका लेखनले लामो समयसम्म प्रभाव पारिरहे, तर सत्ताशक्तिका प्रतिष्ठानहरूमा उनको प्रवेशपछि उनका भुत्ते लेखनले छुन छाडे । पारिजात भने कुनै पनि सत्ताशक्ति प्रतिष्ठानको प्रतिपक्षमा खडा भइरहिन्, जसले मलाई आकर्षित र मोहित बनाइराख्यो । उनले कुनै पनि सत्ताशक्तिसँग जोडिएका मुद्दामा निरन्तर प्रतिपक्षीय कोणबाट कलम चलाइरहिन्, चाहे साहित्यमा होस् या स्तम्भलेखनमा । यस अर्थमा उनको सबैभन्दा मन पर्ने पक्ष नै आलोचनात्मक चेत, कलात्मक लेखाइ, जुझारु व्यक्तित्व र सरल जीवन थियो । उनको अध्ययनको फराकिलो क्षेत्रफल मेरा लागि लोभलाग्दो फाँट थियो भने लेखनको केन्द्रमा रहने गरिखाने जनताको मुक्तिप्रतिको प्रतिबद्धता उत्प्रेरक थियो । ती दुवै पाटोले मलाई सम्मोहनकारी काम गरेका थिए ।

सायद, पारिजातलाई मैले पहिलोपटक देखेको थिएँ २०३९÷४० सालमा भएको महिला पुस्तक प्रदर्शनीमा । भारतीय सांस्कृतिक केन्द्रको हलमा भएको प्रदर्शनीका क्रममा एउटा कुनामा बसेर उनी त्यसको संयोजन गरिरहेकी थिइन्, इन्दिरा दली र विष्णुदेवी श्रेष्ठसँगै । त्यसो त गरिखाने महिलाहरूको मुक्ति आन्दोलनसँग पनि निरन्तर जोडिएकी थिइन् पारिजात । उनले महिलाका पुराना र नयाँ मुद्दामा वैचारिक लेखनमा समेत हात हालेर महिला आन्दोलनलाई फराकिलो पार्न सघाएकी थिइन् । त्यसैको एक उदाहरण हो, यौन, सौन्दर्य प्रशाधन, फेसन सो र सुन्दरी प्रतियोगिताबारे उनले गरेका बहस । चाहे त्यो स्तम्भलेखनबाट होस् या अनुवाद प्रकाशनबाट ।


महिला पुस्तक प्रदर्शनीमा पहिलो देखभेटपछि विभिन्न सांस्कृतिक र साहित्यिक कार्यक्रममा हुने भेट र कुराकानी सधैंजसो प्रेरक हुन्थ्यो मेरा लागि । धेरैजसो युवा लेखक र साहित्यकारलाई प्रेरणा दिने, उनीहरूका लागि ‘स्पेस’ निर्माण गर्ने पारिजात दिदीसँगको संगत मेरा लागि सदा उत्साहप्रद हुने गथ्र्याे । राल्फा र वेदना परिवारसँग जोडिएकी पारिजात दिदी चालीसको दशकको आधाआधीतिर इन्द्रेनी सांस्कृतिक समाज (इसास) की मानार्थ अध्यक्ष भएपछि निकटता र संगत अझ बढ्यो ।

कीर्तिपुरमा २०४४ जेठ २० गते स्थापना गरिएको इसासले २०४५ जेठ १५ मा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा पारिजात दिदीको पनि उपस्थिति थियो । त्यही कार्यक्रमपछि पारिजात दिदीले म जोडिएको ‘गर्जन’ साप्ताहिकमा ‘इसास सांस्कृतिक कार्यक्रम हेरेपछि’ नामक टिप्पणी लेखेकी थिइन्, स्तम्भकारका हैसियतले । त्यसमा युवा साहित्य–संस्कृतिकर्मीहरूलाई उनले दिंदै आएको प्रोत्साहनको बलियो झलक पाइन्छ । चालीसको दशकमा म लेखन, पत्रकारिता र सम्पादनको संसारमा पसेको थिएँ । म ‘मूल्यांकन’ साप्ताहिकदेखि ‘रातो युगधारा’ र ‘गर्जन’ साप्ताहिकमा जोडिँदा पारिजात दिदी ती सबै पत्रिकाका स्तम्भकार थिइन् । त्यसबेला उनी स्तम्भलेखन मार्फत समाजका मसिनाभन्दा मसिना समस्यालाई पनि उठाएर सामाजिक मुद्दा बनाउने कसरतमा थिइन् । उनले त्यसबेला उठाएका मुद्दाहरू अझै पनि दिलदिमाग झक्झक्याउने खालका छन् र तिनमा व्यक्त चिन्तत हामीजस्ता पाठकलाई नयाँ दृष्टि र आशा जगाउने खालका छन् । हुन त उनले उठाउने गरेका महिलाका मुद्दा अहिले पनि ओझेलमै छन् भने धर्मनिरपेक्षताको सवाल विवादमै छ । र, उनले भनेझैं धर्मलाई राज्यसत्ता र शासकहरूले बलियो हतियारको उपयोग गर्ने क्रम जारी नै छ । यस अर्थमा उनका विचार र लेखाइ मेरा लागि अझै पथप्रदर्शक लाग्छन् । चाहे पारिजात हुन् या अन्य प्रगतिवादी साहित्यकार, उनीहरूले चाहेजस्तै, सिर्जना गर्न खोजेजस्तै चालीसको दशकको आधाआधीतिर राजनीतिक आँधी आउन थाल्यो । वामपन्थी र प्रजातान्त्रिक शक्तिको गठजोडले त्यसलाई तीव्रता दियो भने परिवर्तनको पक्षमा रहेका कला, साहित्य र संस्कृति क्षेत्रका कर्मीहरूले त्यसमा मानसिक सहयोग पुर्याए । 

सांस्कृतिक क्षेत्रमा भएको क्रियाशीलतामा पारिजात दिदीको अग्रणी भूमिका थियो, चाहे लेखन होस् या सडकमा । परिवर्तनको पक्षमा लेखक कलाकारहरूलाई सडकमा समेत उतार्नमा उनले खेलेको अहं भूमिकालाई कसैले बिर्सन सक्दैन । त्यसले मेरो लेखन र जीवनलाई सधैं दृष्टि, प्रेरणा र साहस प्रदान गरिरहेको छ । २०४६ सालको जनआन्दोलनताका म मल्ल दाइ (मल्ल के. सुन्दर) को सम्पादनमा रहेको नेपालभाषाको साप्ताहिक ‘इनाप’ सँग आबद्ध थिएँ, केही वर्षअघिदेखि नै । नेपाली कांग्रेस र वाममोर्चाले प्रजातन्त्र पुनस्र्थापनका लागि संयुक्त आन्दोलनको आह्वान गरेपछि मेरो काम संघर्षका घटना र प्रवृत्तिहरूको रिपोर्टिङमा केन्द्रित भयो । त्यसै क्रममा फागुन १७ गते पाटनबाट गिरफ्तार भई नख्खुमा जेल जीवन सुरु भएपछि पारिजात दिदीसँगको मेरो सम्पर्क टुट्यो । जेलमा हुँदा पनि म के कुरामा ढुक्क थिएँ भने पारिजात दिदीको क्रियाशीलताले पक्कै रङ्गरूप र आकार देखाउनेछ । अन्ततः जनआन्दोलनको क्रममा चैत ३ गते लेखक कलाकारहरू सडकमा उत्रिए पारिजात दिदीहरूकै अगुवाइमा । काठमाडौंको केन्द्रमा रहेको त्रिचन्द्र कलेजमा उनीहरूले मुखमा कालो पट्टी लगाएर निरंकुशतन्त्र र तानाशाही शासनको विरोध गरे भने अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई दह्रोसँग उभ्याए, गिरफ्तारी दिने सर्तमा पनि ।


व्यापक दमनकै आधारमा जनआन्दोलनलाई परास्त गर्न खोज्ने राजा वीरेन्द्र र उनको शासन सम्हाल्ने श्रेष्ठ, चन्द, थापा वा अन्यान्य मतियारलाई लेखक कलाकारहरूले सडकबाटै चुनौती दिए । जेलभित्र आएको यस्तो खुसखबरले प्रफुल्लित र उत्साहित मजस्ता धेरै कैदीका लागि थप पारिजात दिदीले देखाएको जुझारुपनाको समाचारले झनै आँटिलो बनायो । अरू सबै लेखक कलाकार गिरफ्तार गरिएपछि उनलाई पनि प्रहरीले समात्न खोजेका थिए । त्यसबेला उनले ‘मलाई समात्ने हो भने महिला प्रहरी लिएर आऊ, नभए मलाई छुन पाइँदैन’ भनी कडा चुनौती दिएकी थिइन् । उनको चुनौतीसामु लत्रकै झुक्न बाध्य भए प्रहरी प्रशासनका यन्त्रहरू । उनलाई महिला प्रहरी ल्याएर गिरफ्तार गरिएन र उनी एक्लै त्रिचन्द्र कलेजको सरस्वती प्रांगणमा लामो समय बसिरहिन्, मुखमा कालो पट्टी बाँध्दै । शारीरिक रूपमा एक्लै उभिन र हिँड्न नसक्ने भइसके पनि उनले त्यतिखेर निरंकुश सत्तासामु एक्लै उभिएर जुन साहस देखाइन्, त्यसले मेरो मनमा जुझारुपनको विशाल विम्ब बनाएको छ ।

उनको जुझारुपना अन्तरिम सरकार निर्माणदेखि नयाँ संविधानको लेखन र प्रज्ञा प्रतिष्ठानको प्रजातन्त्रीकरणका लागि चलाइएको संघर्षमा पनि देखेको थिएँ । अन्तरिम सरकार गठन प्रक्रियाबारे प्रश्न उठाउँदै कुराकानीको क्रममा उनले भनेकी थिइन्, ‘यो बहुदलीय सरकार होइन, अढाई दलीय सरकार हो । यहाँ प्रजातन्त्र आएको होइन, न त गणेशमान नै हाम्रा सर्वमान्य र सर्वाेच्च नेता हुन् ।’ अन्तरिम संविधान निर्माणका क्रममा विभिन्न भाषा, जाति, धर्म र लिङ्गका जनताको मागको सम्बोधन गरिनुपर्ने पक्षमा उभिएकी दिदीले त्यसका लागि लेखनबाट पनि हस्तक्षेप गरेकी थिइन् । संविधानबाट ती मुद्दाको सम्बोधन नभएपछि र सरकारका अप्रजातान्त्रिक चालामाला देखेपछि उनी अढाईदलीय मात्रै हैन, नेपाली कांग्रेसको एकदलीय सरकार पनि प्रजातन्त्रको पक्षमा नभएको निष्कर्षमा पुगेकी थिइन् । 

२०४६ सालको निरंकुश पञ्चायती व्यवस्था फ्याँकिएपछि पारिजात दिदीले प्रजातन्त्रीकरणको अभियान चलाएकी थिइन्, प्रज्ञा संघर्ष समिति मार्फत । त्यसको एउटा केन्द्र थियो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संरचना र नियुक्तिमा प्रजातन्त्रीकरण गर्नुपर्ने मुद्दा । उनी र उनीजस्ता धेरैजसो वामपन्थी र लोकतान्त्रिक विचार राख्ने लेखक कलाकारहरूले प्राज्ञ परिषद्को गठन प्रक्रिया र प्रारूपलाई उल्टाउनुपर्ने माग जबर्जस्त रूपमा उठाएका थिए । उनीहरूको सुझाव थियो ः
विविध क्षेत्रका प्रतिष्ठित जानिफकारहरूको भेला बोलाई प्राज्ञिक छलफल गराएर मात्रै त्यसको उद्देश्य, संरचना, विधि र प्रक्रिया चयन गर्नुपर्छ । तर विडम्बना, त्यसरी माग उठाउनेमध्ये नै कोही सदस्यसचिवका रूपमा जागिर खान गए भने कोही पार्टीका कोटामा प्राज्ञ र उपकुलपतिसम्म पनि हुन गए । त्यसबेला पारिजात दिदीले त्यस संघर्षको अगुवाइ गर्दा उनलाई कसैले आफू भिसी (भाइस चान्सलर) हुन संघर्ष गरेको आरोप लगाए भने कसैले उग्रवामपन्थी पार्टीहरूले प्रयोग गरेको लाञ्छना लगाए त कसैले विरोधका लागि विरोधको झन्डामात्रै उचाली भाँडभैलो मच्चाउन खोजेको दोषारोपण पनि गर्न भ्याए । तर उनी आफ्नो अभियानप्रति कति दृढ र स्पष्ट थिइन् भने उनले सबैलाई जवाफ दिइन्, ‘म प्रज्ञाको जागिर खान्नँ । अवसरवादीहरू छन्, उनीहरूलाई खुवाऊ ।’ 

आज फर्केर हेर्दा त बाईस वर्ष भयो पारिजात दिदीको देहान्त भएको । यसबीचमा पञ्चायत र प्रजातन्त्रपछि देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको छ, तर लोकतन्त्र र गणतन्त्र जनमुखी भएको छैन । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध लडेकी दिदीको मृत्युपछि अनेक उथलपुथल भइसकेको छ, तर राजनीतिक संस्कृतिमा धेरै परिवर्तन आएको छैन । राज्यकोआवरणमा संसदीय प्रजातन्त्र हटाई लोकतान्त्रिक गणतन्त्र ओढाइए पनि दिदीले भनेझैं राजनीतिको केन्द्रमा गरिखाने बहुसंख्यक जनतालाई राखिएको छैन ।  उनले आफ्नो साहित्य, राजनीति र आन्दोलनको केन्द्रमा राखेका बहुसंख्यक जनता अझै पनि सत्ता–शक्ति–सम्पत्तिको ‘पेरिफेरी’ (सीमान्त) मै छन् । यस अर्थमा उनको जीवन, लेखन र कर्मसँग जोडिएको सिद्धान्त, विचार, राजनीति, संस्कृतिको ‘स्कुल अफ थट’ अझै सान्दर्भिक देख्छु ।

भाद्र १२, २०७२ कान्तिपुरमा प्रकाशित 

No comments:

Post a Comment