Sunday, 24 July 2022

‘पढ्न मन छ, तर के गर्नु मजबुरी छ’



भाइबहिनीहरू, जब तिमीहरू स्कुल गइरहेका हुन्छौ, ठीक त्यति नै बेला बाँसको कप्टेरोमा गुलाबी रङका खानेकुरा (कटन क्यान्डी) बोकेर तिम्रै उमेरका साथीहरू हिँडिरहेका देख्छौ होला । उनीहरू कहिले जाडोमा लुगलुग कामिरहेका हुन्छन् कहिले चर्को गर्मीमा हिँडिरहेका हुन्छन् । उनीहरूको खुट्टामा जुत्ता पनि हुँदैन । न्यायो लुगा पनि लगाएका हुँदैनन् । कहिले भीडमा त कहिले पार्कहरूमा टोलाएर ग्राहक खोजी बसिरहेका हुन्छन् ।

स्कुल जाने उमेरमा उनीहरू त्यसरी किन हिँडेका होलान् भनेर तिमीहरूलाई लागेको होला है । एक साताअगाडि बौद्ध स्तूपा र पशुपति मन्दिर छेउछाउ भेटिएका यी चारजना बालकले आफ्ना कथा यसरी बेलिविस्तार लगाए ।

उनीहरूले कटन क्यान्डी गौशालाको एक साहूबाट लिँदा रहेछन् । उनीहरू बिहान खाना खाएर दिनभरि बेच्दै हिँड्छन् । व्यापार भए दिउँसो खाजा खान्छन्, नभए खाँदैनन् । बेलुकी फेरि त्यही साहूको घर फर्कन्छन् र त्यहीँ सुत्छन् । उनीहरूको तलब मान्छे हेरीहेरी महिनाको चार हजारदेखि सात हजारसम्म हुँदो रहेछ ।

बौद्ध स्तूपाअगाडि उभिरहेका थिए मोहम्मद मुजाहिर । १५ वर्षका उनी भारत सितामाडीबाट आएका हुन् । उनले ६ महिनादेखि कटन क्यान्डी बेच्दै आएका छन् । उनी घुम्ने ठाउँ पशुपति, बौद्ध, चाबहिल र जोरपाटी क्षेत्र हो । उनी दिनभरि घुमेर दिनको एक हजार रुपैयाँसम्म कमाउँछन् । तर, त्यो पैसा लगेर बेलुकी साहुजीलाई दिन्छन् । त्यो काम गरेबापत उनले महिनाको सात हजार कमाउँछन् । पढ्नु पर्दैन भन्दा उनको जवाफ यस्तो आयो, ‘पढ्न त मन छ नि तर हामीलाई कसले पढाउने ? ’

उसकी आमा सानैमा बितेकी हुन् रे । बुवाले सानीआमा ल्याएपछि उनलाई घर बस्न मन लागेन । त्यसपछि मोहम्मद चार वर्षअगाडि आफन्तको पछि लागेर काठमाडौं आए । सुरुमा होटलमा काम गरे । त्यहाँ उनलाई मन परेन । त्यसपछि उनी कटन क्यान्डी बेच्दै हिँड्न थाले ।

गुहेश्वरी मन्दिर छेउमा भेटिए प्रवीणकुमार रजक । उनको घर रौतहट लक्ष्मीनियामा पर्छ । उनी सात वर्षका भए । उनले पनि पढेका छैनन् । स्कुल जाने बेला उनी पनि बिहानै गौशाला साहूको कोठाबाट कटन क्यान्डी बोकेर हिँड्छन् । उनले महिनाको पाँच हजार कमाउँछन् । उनको पनि घरमा आर्थिक अवस्था कमजोर छ । खेतीपाती गरेर बुवाआमाले उनलाई पढाउन सकेनन् । ६ महिनाअगाडि उनी पनि काठमाडौं आएका हुन् ।

उनलाई पढ्न एकदमै मन छ । आफूजस्तै साथीहरू स्कुल बस चढेर गएको उनी हेरिबस्छन् । पढ्न मन लाग्छ ? भनेर सोध्दा उनले भने, ‘पढ्न मन छ । तर, के गर्नु मजबुरी छ ।’ आमा बुवाको सम्झना आउँदैन भन्दा उनले भने, ‘आमा मरिहाल्छ ।’ मधेसी लवजमा उनले भनेका थिए, ‘आमा बितिसक्नु भयो ।’

प्रवीणकै साथी हुन् राजा कुमार रजक । उनले पनि पढेका छैनन् । राजा ६ वर्षका भए । उनले कटन क्यान्डी बेच्न थालेको तीन महिना भयो । उनी पशुपति क्षेत्रमा दिनभर घुम्छन् । बेलाबेलामा सिनामंगल, एअरपोर्ट छेउछाउ पनि साथीहरूसँग पुग्छन् । उनको तलब पनि पाँच हजार हो । दिनभरि कटन क्यान्डी बेचेर साँझ साहूलाई उनी पैसा बुझाउँछन् ।

उनीहरूको सबैभन्दा कान्छो साथी हो, प्रदीपकुमार रजक । रौतहट टिकुलियाका उनी अरूभन्दा साना छन् । बाँसको अग्लो कप्टेरोमा कटन क्यान्डी झुन्ड्याएर सकीनसकी बोकिरहेका हुन्छन् उनी । उनको तलबचाहिँ अरूको भन्दा कम रहेछ । महिनामा कति पैसा कमाउछौ भन्दा उनले भने, ‘चार हजार ।’ उनका बुवाआमा गाउँमै बस्छन् ।

खेतीपाती गर्ने उनका बुवाआमाले उनलाई पनि पढाउन सकेनन् । कटन क्यान्डी बेच्न थालेको दुई दिनमात्रै भएको रहेछ । ‘पढ्न मन लाग्दैन ? ’ भनेर सोध्दा उनी चुपचाप बसे ।

उनीहरूलाई कहिले कुकुरले लखेट्छ । कहिले अरू मानिसले उनीहरूको कटन क्यान्डी खोसेर खाइदिन्छन् । तर पनि धुलो धुवाँ, हुरी बतास, भेल बाढी नभनी उनीहरू बेचिरहन्छन् । एउटाको २० रुपैयाँ पर्छ । अरू विद्यार्थी स्कुल बसबाट बेलुकी घर फर्किंदा उनीहरू बाँसको कप्टेरो बोकेर भीडमा ग्राहक खोज्दै डुलिरहेका हुन्छन् ।

तिमीहरूलाई यति सानै उमेरमा कति धेरै पैसा कमाउन सकेको भन्ने पनि लाग्यो होला है । यसो हेर्दा त हो नि । तर, उनीहरूको उमेर त अहिले पढ्ने हो नि । उनीहरू स्कुल जान पाएका छैनन् । तिमीहरूलाई थाहा छ ? नेपालका धेरै जिल्लामा गरिबीका कारण मानिसले पढ्न पाएका छैनन् । पढ्न नपाउनेको संख्या हजारौं छ । आफ्नो सन्तानलाई टिफिन बक्समा खानेकुरा राखेर स्कुल पठाउने मन कुन आमाबाबुको मन नहोला र ? तर, उनीहरू बाध्यतामा छन् । यसरी कति आमाबाबुले आफ्ना सन्तानलाई पढाउन सकेका छैनन् होला है । उनीहरूजस्तै तिम्रा कति साथीहरू स्कुलबाहिर होलान् है ? यसको बारेमा कसले होला सोच्ने ?

No comments:

Post a Comment