सेन्ट लरेन्स कलेजका ‘छात्र’हरुसँगको त्यो ग्याङफाइट

  राजु स्याङ्तान 

करिब एकदशक अघिको कुरा हो । युएन पार्क हुँदै साइकलमा सन्तोष गुरुङ भाई र म कतै जाँदै थियौं । सन्तोषलाई पिसाप लागेछ । उ साइकलै लिएर युएन पार्कभित्र पस्यो । म डिलमा बसेर उसलाई कुरिरहेँ ।

एकछिनपछि ‘राजु दाइ, राजु दाइ’ भन्दै रक्ताम्मे भइ सन्तोष मतिर आउँदै गरेको देखेँ । कलेज ड्रेस लगाएका ८\१० जना केटाहरुले सन्तोषलाई लखेटिरहेको थियो । के भएको हो ? केही मेलोमेसो पाइनँ । मेरो होसहवास उड्यो । सन्तोष रक्ताम्ये देखेपछि डिलबाट हामफालेँ अनि एउटा लौरो टिपेँ । लौरो उज्याउँदै १० जनाको भिडतिर जाइलागेँ । साउथ इन्डियन पारामा लौरोले केटाहरुलाई बजाउँदै थिएँ, एउटाले लौरो च्याप्प समायो । अर्कोले मेरो छातितिर भ्वाक्कै हान्यो । म डल्लो परेँ । उता सन्तोषलाई घुमिघुमि राउन्ड किक हानीरहेको थियो । त्यो राउन्ड किकहरु मेरो लुते ज्यानमा पनि पर्यो । म अररो भइरहेँ । फेरि एउटाले मलाई च्याप्प समायो अनि अर्कोले दनादन पिट्न थाल्यो । दुईटा हात अनुहारमा लगेर नाकमुख छेकिरहेँ । सबै प्रयास व्यर्थ भयो । १० जनाको ग्याङले हामी दुई निम्छरालाई कुट्नुसम्म कुटे ।

वरपर रमितेको भिड लाग्यो । तर कोही बचाउन आएनन् । कुटाकुट चलिरहेकै बेला कसैले भनेको सुनेँ, ‘पुलिस आयो पुलिस भाग् ।’

कुट्न छाडेर सबै भाग्न थाले तर एकजनालाई भाग्न दिइनँ, समाएँ । सन्तोषले पनि एकजनालाई समाएछ । नभन्दै एकछिनमा पुलिस आइपुग्यो । हामी चारजनालाई भ्यानमा हालेर पुल्चोक पुलिस चौकी लगियो । सन्तोषको नाकमा रगतको टाटा अझै थियो । मेरो अनुहारतिर निलो निलो डाम थियो । छाती दुखिरहेको थियो । मेरो भन्दा हालत खराब सन्तोषको थियो । पुलिसले सोधपुछ सुरु गर्यो । सन्तोषले भावुक हुँदै इतिबृतान्त सुनायो । 

भएको के रहेछ भने, पिसाव बदली गर्न सन्तोष साइकलमा गइरहेको थियो । उताबाट बाटो नछाडि केटाहरुको हुल आएछ । सन्तोषले किरिङकिरिङ घन्टी बजाएछ । आफूलाई डिओजी डन सम्झिरहेका केटाहरुले एक्ले सन्तोष देखेपछि कड्किएर भनेछ, ‘ओइ साला, कसलाई घन्टी बजाको ?’ सन्तोषले विनम्र भएर भनेछ, ‘बाटो छोड्नु न । म उता जान लाग्या ।’ डिओजी डनहरुले फेरि भनेछ, ‘साला ठूल्ठूलो कुरा गर्छस् ? खोजेको हो ?’ त्यसपछि सन्तोषको साइकल लडाइदिएछ । अनि सुरु भयो, सन्तोषमाथि मुक्कामुक्की । सुरुसुरुमा अलिअलि प्रतिकार गरे सन्तोषले । तर १० जनाको ग्याङ जाइलागेपछि त्यहाँबाट कुलेलम ठोकेर म बुबुरोसँग गुहार माग्न आइपुग्यो । 

अनाहकमा झगडा गर्नेहरुको अनुहार पुलिस चौकी पुग्दा हाम्रो भन्दा माया लाग्दो देखियो । तर कुटाइको दुखाइ हराएको थिएन । हामीले गम्भीर मुद्दा चलाउनुपर्ने माग राख्यौं । कति गम्भीर थियो, अहिले विर्सिएँ । सायद त्यो गम्भीर नभएरै अहिले विर्सिएको होला । त्यसपछि कुट्नेको बयान सुरु भयो ।

ब्याचलर पढ्दै गरेका उनीहरु कलेजबाट बङ्क हानेर पाटनतिर रल्लिन निस्किएका रहेछन् । टिल्ल रक्सी र जाँड खाएका रहेछन् । अनि युएन पार्कदेखि रत्नपार्कसम्म, बबरमहलदेखि केशरमहलसम्म सबै आफ्नै बाउबाजेको बिर्ता सम्झिएर हिँडिरहेका रहेछन् । उनीहरुको नसाको झोंकमा परेछौं हामी ।

याैन दुर्व्यवहार गर्ने शिक्षककाे तस्बिर जलाउँदै कलेजका विद्यार्थीहरूः तस्बिर, राताेपाटी

पुलिससँग हामी दुईको माग थियो, ‘यिनीहरुलाई आज यहीँ थुन्नुपर्छ । हाम्रो घाउको उपचार गर्नुपर्छ । यिनीहरुका बाउआमा बोलाएर आफ्ना छोराहरुलाई हामीसँग माफी मगाउनुपर्छ । र अनि अर्को कुरा, हामीलाई अनाहकमा कुटियो, क्षतिपूर्ति चाहिन्छ ।’ हाम्रो माग पुलिसले सुने जस्तो गर्यो  अनी उनीहरुसँग बाउआमाको नम्बर माग्यो । तर ती दुईले मुख्य झगडाकर्ता आफूहरु नभएको, र कलेजबाट भाग्नेदेखि, रक्सी खाने र कुटपिटमा उत्रिने योजना आफ्नो नभएको स्पष्टीकरण दियो । मुख्य योजनाकर्ता कलेजको मालिकको भतिज भएको पनि खुलायो । 

हाम्रो घाउ सेलाएकै थिएन । के के कुरा गर्दागर्दै पुलिसले हामीलाई कलेजमा गइ रिपोर्ट दिन सुझायो । पक्राउ परेका दुई कुटाइकर्तालाई अलि अलि गाली गरेर छाडिदियो । पुलिस आफू पन्छियो अनि न्याय पाउने जिम्मा हामी आफैलाई छाडिदियो ।

रातभरी दुखाइको पीडामा कलेजको नाममा  लामो निवेदन लेख्यौं । भोलिपल्ट बिहानै कलेज खोज्दै चावहिलतिर गयौं । त्यो कलेजको नाम थियो, सेन्ट लोरेन्स कलेज ।

यो ब्लग पढ्दै गर्नुभएका साथीहरु, त्यो त्यही कलेज थियो, जहाँ आज छात्राहरुले आफू माथि भएको यौन दुर्व्यहारबारे आन्दोलन गर्दैछन् । छात्राहरुमाथि भएको जघन्य अपराधले त्यो पुरानो दिन सम्झायो अनि लेखेको  है। 

फेरि कथा सुरू गराैं। 

कलेजमा पुगेर प्रिन्सिपललाई निवेदन दियौं । प्रिन्सिपलको नाम भुलेँ । उसले एकाध घन्टामा हिजो ग्याङफाइटमा उत्रिने केटाहरुलाई बोलायो । उनीहरु मुस्किलले ५ जना मात्रै आयो । प्रिन्सिपलको भतिज भन्ने चाँही हामीले देखेनौं वा उनीहरुले चिनाएनन्  पनि । त्यसपछि हामीले हाम्रो घाउ देखायौं । अनाहकमा कुटाइ खानु पर्दाको पीडा सुनायौं । प्रिन्सिपलले कुरा सुनेजस्तो गरिरह्यो । क्षतिपूर्ति दाबी गरेँ, ‘हामी हिजो रातभरी सुत्न सकेनौं । हामीसँग माफी माग्नुपर्छ र हाम्रो उपचार गर्न २० हजार क्षतिपूर्ति चाहिन्छ ।’ मैले २० हजार भन्दा सन्तोष झस्कियो । मैले पनि के सुरुमा २० हजार भनेँ पत्तै पाइनँ । 

प्रिन्सिपलले १५ मिनेट जति फलाकी रह्यो । उसले आफ्ना विद्यार्थीहरुलाई हकारेको जस्तो गर्यो । अनि हामीलाई सान्त्वाना दिए जस्तो पनि गर्यो । अन्तिममा ५ जनाले एकएक हजार क्षतिपूर्ति दिनेमा सहमति गराइ छाड्यो । ५ हजारमा त के मान्नु ! सन्तोष खुसखुस गर्दै थियो । तर अन्तिममा ५ हजार पैसा थापेर हामी बाहिरियौं ।

मनभित्र रिस उठिरहेकै थियो । तर रिसभन्दा ठूलाे भाेक रैछ । रिसकै झाेंकमा चावहिल चाेकमा पुगि २० डल्ला मःमः खायौं । अनि पैसा बाड्यौं । कुटाइ धेर सन्तोषले खाएकाले उसको भागमा ३ हजार पर्यो । तुलनात्मक रुपमा कम कुटाइ खाएकाले मेरो भागमा २ हजार पर्यो । त्यो दुई हजारले केही जोर हप्ता गर्जो टर्याे । 

हिजोआज पनि युएनपार्क तिर कहिलेकाँही पुग्दा अनाहकमा कुटाइ खानुपरेको त्यो दिनको सम्झना आउँछ । गौरीघाटबाट उकालो चढेर चावहिलतिर जाँदै गर्दा सेन्ट लोरेन्स भन्ने कलेज देख्दा पिच्च थुक्न मन लाग्छ । इन्टरनेटतिर त्यो कलेजको लोगो देख्यो कि उस्सै मुड खराब हुन्छ । 

अहिले छात्राहरुमाथि भएको जघन्य अपराधको तुलनामा हामीले भोगेको त्यो घटना खासै केही होइन । तर काठमाडौंका निजी कलेजमा कस्ता मानिस हुर्किरहेका छन् ? कस्ता मानिसले कलेज चलाइरहेका रहेछन् भन्ने चाँही दह्रो उदाहरण हो । 

उक्त कलेजका विद्यार्थीहरुको आन्दोलनमा हामी दुई कुटाइ खानेको पूर्ण ऐक्यवद्धता छ । अपराधीले छिट्टै सजाय पाउनुपर्छ । 


0 Comments