दोस्रो विश्वयुद्ध सकिएको ७२ वर्ष बितिसकेको छ।
विश्वयुद्धमा लाखौं मानिस मारिए। कयौं अंगभंग भए। मानव सभ्यताकै कलंकका रुपमा हेरिएको विश्वयुद्धमा कयौं नेपाली सहभागी भए। अंगे्रजको सेनामा भर्ती भएर कयौं नेपालीले उत्तै ज्यान गुमाए भने केही नेपाली सकुशल फर्किए। त्यसरी फर्किनेहरुमध्ये ललितपुर लेलेका खड्गबहादुर कार्की एक हुन्।
लेलेको बसपार्कदेखि अलिमाथि उनको घर छ, गाउँभन्दा अलग्गै जंगलको छेउमा। गोटीखेल जाने बाटैबाटो उनको घरतिर हिँड्दै गर्दा कवि केशव सिलवालले औंलाले उनको घर देखाए। उनको घरअघि कुलुलु बग्दै गरेको सानो खोल्सी तरेर उनको घरतिर हिँड्दै गर्दा मनमनै कल्पिएँ। एक शताब्दी पुग्न ६ वर्षमात्रै बाँकी रहेका वृद्ध सिपाही ओच्छ्यानमा पल्टिरहेका होलान्। आँगनमा टुकुटुकु हिँड्दै गरेका पनातीहरु हेर्दै थोते दाँत देखाएर मुसुमुसु हाँस्दै होलान्। तर जब उनको घर पुगेँ, कल्पना मिलेन।
उनको घर भूकम्पले लगेछ। भत्किएको घर छेउमै टहरा बनाएका रहेछन्। नाति–नातिनी, पनाती होइन आँगनमा सन्नाटा हाँसिरहेको थियो। एक्लोपन, शून्यता र उदासी थियो। हामीले देख्यौं, टहरामा ताला लागेको रहेछ।
एकजना बारीमा काम गरिरहेका उनका छिमेकीले भने उनी श्रीमतीलाई बिमारीले च्यापेपछि तल बजारमा झरेका रहेछन्। हामी ती बृद्ध सिपाहीलाई खोज्दै बजार झर्यौं।
उनको झड्केलो छोराको घरमा उनी थिएनन्। ७५ नाघि कसेकी बुढी आमालाई आगनमा अक्सिजन दिएर राखिएको थियो। बुढालाई अझै भेटिएन। उनलाई खोज्दै लेले चौक चौतारोमा हिँड्न थाल्यौं। अब भने मेरो मनमा उनीप्रतिको बिम्ब फरक हुँदै जान थाल्यो। कवि सिलवाल उनी कहाँ छन् भन्दै वरपरकालाई सोध्दै थिए। कसैले सुनायो, ‘सुन्तलीका बा त मन्दिरमा गफ गरिराछन्।’
हामी मन्दिरतिर कुद्यौं।
खरानी र पहेँलो रंगको ज्याकेट। शिरमा थोरै मैलो र फाटेको टोली। हातमा घँगराको लौरो। चाउरिएको अनुहार। शरीर थोरै कुप्रो परेको। तल खरानी रंगकै सुरुवाल लगाएर उनी गफिदै रहेछन्। उनको नजिक गएर नमस्ते गरेँ।
नेपाली उखान ‘देश खाएर शेष भएको मान्छे’ भन्ने धेरै पटक सुनेको छु। तर ठ्याक्कै देश खाएर शेष भएको मान्छे भेटे जस्तो लाग्यो। एउटा जिउँदो इतिहास बोकेको सिपाही जसले व्रिटिसको लागि वर्मामा गएर युद्ध लडे। उनको अगाडि नतमस्तक भएँ। कुराकानी गर्ने उपयुक्त ठाउँ खोज्दै कवि केशवको निवासतिर हिँड्यौ। उनी हामीसँगै ठम्ठम् हिँडे।
घर पुगेर कुराको मेलोमेसो सुरु हुनुभन्दा अघि उनले गफैगफमा सतर्क, गोडा फाट गरेर देखाए। उनको खुट्टा लुलो थिएन। जवान सिपाहीले जस्तै सतर्क गोडाफाट गरेर देखाए। हातमा बोकेको घँगारोको लौरोलाई बन्दुक बनाएर उनले पोजिसन पनि देखाए। त्यसपछि लामो हाँसो हाँसे। अनी सुरु गरे आफ्नो रामकहानी।
उनको घर भूकम्पले भत्काएको छ। घर भत्काएपछि उनले छेउमै टहरा बनाएका छन्। त्यही टहरामै निधाउँछन् उनी ढुक्कले। ७५ वर्ष नाघि नाघेकी जीवनसाथी उनको साहरा भएको छ अहिले। एउटा छोरी विहे गरेर ललितपुरकै इमाडोल पुगेकी छिन्। विहान उठ्नु, खाने कुरा खाएर लेले चौकतिर झर्नु, आफूजस्तै बुढापाकासँग चौकमा भेला भएर लडाइँका कुराहरु सुनाउनु उनको दैनिकी भएको छ।
रामेछापबाट हिँडेरै मुग्लान
बुवा जीतबहादुर कार्की र आमा मानकुमारी कार्कीको कोखबाट वि.सं.१९७९ मा पूर्वी रामेछापमा जन्मिएका रहेछन् उनी। अन्नपात धेरै नफल्ने। सँधै गरिबीले घरलाई घेरिरहने। जवान भएर लेकबेसी गर्न थालेपछि जागिर खाने सोच बनाए। ठूलोबुवाको छोरा दाइको साथ लागेर काठमाडौं आए। त्यो बेला मोटर बाटो हुने कुरा भएन। ७ दिन हिँडेरै काठमाडौं आए। जागिर खोज्न थाले। तर भनेजस्तो जागिर पाएनन्। कसले सुनाइदियो पैसा कमाइन्छ मुग्लानमा। त्यसपछि मुग्लान जाने सोच बनाए उनीहरुले। एकदिन भालेको पहिलो डाकमै काठमाडौंबाट निस्किए मुग्लानका लागि।
काठमाडौंबाट हिँडेरै आठ दस दिनमा उनीहरु जयनगर पुगे। त्यहाँबाट कतिदिन हिँडेर सिलगुडी पुगे उनीहरु उनले सम्झन सकेनन्। ‘कतिदिन लाग्यो लाग्यो। हिँड्या हिँड्यै।’ उनले हाँस्दै सुनाए।
सिलगुडीबाट उनीहरु भारतको गुम्पाल भन्ने ठाउँमा पुगे। त्यहाँ काम गर्दागर्दै पल्टनमा भर्ती हुनुपर्छ भनेर कसैले सुनाइदिए उनीहरुलाई। फुर्तिलो ज्यान भनेर उनलाई सबैले हौस्याए। ‘कि खतम भइयो, कि खाइयो भन्ने लाग्यो’ उनले फेरि हाँस्दै सुनाए।
‘एउटा खाल्डो नाघ्न लगायो। त्यो खाल्टो नाघे पास हुने नभए फेल हुने भन्यो। मैले खाल्डो नाघे।’ पल्टनमा भर्ना लिँदाको स्मरण उनले हौसिँदै सुनाए। उनका दाइले खाल्डो नाघ्न नसकेपछि दाजुभाइको यात्रा टुंगियो। सुरु भयो उनको नयाँ बाटो।
उनीसँगै पास भएका नयाँ पल्टनेहरुलाई ट्रेनिङका लागि भारतको कुनै जंगलको बीचमा लगेर राखियो। कहाँको जंगल भनेर उनले सम्झिन सकेनन्। ‘धेरै वर्ष भो। सबै विर्सि हालियो। बालुवा थियो तल, खाना चाहिँ राम्रो थियो है त्यहाँ। सबै इन्डियन नै इन्डियन थिए। नेपाली त म मात्रै।’ उनले भने।
बर्माको जंगलमा सात दिन भोकै
तालिम सकिएपछि उनीहरुको पल्टन बर्माको जंगलतर्फ अघि बढ्यो। व्रिटिस सेना र जापानी सेनाबीच वर्माको जंगलमा घमासान युद्ध भइरहेको थियो। उनी व्रिटिसको तर्फबाट युद्धमा सहभागी थिए। उनको हातमा राइफल, बम, र पेस्पोल थियो। बेतघारी नै घारी कयौं दिन उनी जंगल नै जंगल हिँडेर वर्माको रणमैदानमा पुगे। घमासान लडाइँ भयो। लडाइँले क्षतिग्रष्ट भएको वर्मामा जीवनमा कहिल्यै नदेखेको नोटका बिटाहरु देखे उनले। ‘य…त्रा य…त्रा नोटका बिटाहरु। तर छुनसम्म नदिने। जम्मै आगोले पोलेर आयौं।’ उनले त्यो दिन सम्झिएर थकथक मान्दै भने।
बर्माको जंगलमा जापानीसँग दुई पटक घमासान लडाइँ भयो। त्यहि पहिलो पटक दुश्मनलाई निसाना बनाएर उनले बन्दुक पड्काए। जापानी सेनाहरुलाई रणमैदानमा देखेपछि उनी झुक्किएछन् त्यसबेला। उनले हाँस्दै भने, ‘जापानीहरु जम्मै नेपाली जस्ता। नेपालीहरु नै जापान गएर जापानी सेना भएका हुन् कि जस्तो पो लाग्यो।’ त्यही जंगलको बेतघारीमा सात दिन भोकै बसे उनी।
त्यसबेला उनले रुखको पात पनि खाए। पानी प्यास लाग्दा बेतको जरा काटेर निचोर्दै खाए। त्यही जंगलमा लखतरान भएर लड्दालड्दै हप्तादिनपछि उनीहरुका लागि हवाइजहाजबाट खाना आइपुग्यो। ‘दाल,भात, तरकारी, रोटी, मासु के के हो के के ल्याइदियो। तर खानै नपाउने। रोटी, चिया, तुमलेटमा पानी सबै पछाडि झोलामा बोक्या छौं तर पेट खानै नदिने। बल्ल बल्ल दिएपनि थोरै मात्र खान दिने। धेरै खानै नदिने। लड्न सक्दैन, ‘डिप्टी’ गर्न सक्दैन अल्छि हुन्छ भन्थ्यो।’ उनले सुनाए।
त्यही जंगलमा गुमाए उनले सँगैका १५/१६ जना साथीहरु। कुरा गर्दा गर्दै उनी गम्भीर देखिए। रणमैदानमै छाडेर आएका संगीहरु आँखा अघि आइपुगे सायद। उनी एकछिन टोलाएर फेरि बोल्न थाले। ‘सँगै हिँडेका साथीहरु ढल्थ्यो। थाहै नपाइ दायाँबायाँका साथीहरु गल्याम गुर्लुम ढल्थ्यो। तर मलाई चाहिँ गोली लागेन। ठूलो घाइते पनि भइनँ। म पनि मर्छु होला जस्तो लाग्थ्यो। तर मरिनँ। भगवानले बचाइदियो।’ चाहुरिएको अनुहार एकछिन धमिलियो। फेरि भन्न थाले लडाइँका कथा।
साथीहरुले रुखमा बाँधेर रक्सी खुवाए
बर्माको जंगलमा कष्टकर दिनहरु बिताएर उनको पल्टन भारत फर्कियो। भारत फर्केपछि भने राम्रोसँग खाना पाए। भारतीय भूमिमा आइपुगेपछि उनको पश्चिमतिरका एकजना बाहुन साथीसँग भेट भयो। ‘उसलाई रक्सी चाहिँ खुब खानुपर्ने। म नखाने। ‘किन खाइनस् भनेर मलाई कुट्थे साथीहरुले।’ उनले थोरै लजाउँदै सुनाए। पछिपछि भएपछि उनले नखाइ सुख पाएनन्। हाँस्दै उनले सुनाए ‘साथीहरुले मलाई रुखमा बाँधेर खुवाइ छाडे। यताको जस्तो रक्सी हो र? रम, रम। त्यसपछि त अर्कै भइहाल्दो रछ नी त हा हा हा।’ यति भन्दै लामो हाँसो हाँसे।
पल्टने धामी
उनी पल्टने धामी। झारफुक गर्न सिपालु। कयौं पटक साथीहरु विरामी हुँदा उनले ड्याँङ्ग्रो पनि बजाए। सबैले उनलाई पल्टने धामी भन्थ्यो। दुःख पर्दा सम्झिने धामी भएपछि उनलाई सबैले सम्मान गर्थे माया गर्थे। आफूभन्दा माथिका हाकिमहरुले बहादुर, सुरो, मसुर भनी सम्वोधन गर्दा उनी पुलकित हुन्थे।
दुई वर्ष लडेर रित्तै फर्किएँ
उनी भर्ना भएर लडेको दुई वर्षमा युद्ध टुंगियो। जापानले आत्मसर्मपण गरेपछि सिपाहीहरुलाई पल्टनबाट विदा गर्यो। त्यसमा उनी पनि परे। पैसा कति पाउँनु भयो भनि सोध्दा उनी अकमकिए। सम्झिने कोशिस गरे। ‘उस् बेलाको पैसा कति दियो कति। जम्मै जापानी पैसा। कामै नलाग्ने पैसा। नेपालमा चालु नै रैनछ त्यो पैसाको।’ उनले दुखी हुँदै सुनाए। ‘झोला बोकँे। केही लुगा फाटो थियो, त्यो बोकेँ। अनि यतिकै एक्लै फर्केर आएँ।’ यसोभन्दा उनको स्वर थर्थराइरहेको थियो।
माइखोला पारी साथीको लास
उनी युद्धको आलो घाउ बोकेर पूर्वी नेपालबाट आफ्नै जन्मभूमितिर फर्किए। लडाइँका अधुरा घाउ, त्यसमाथि खाली हात एक्लै आउँदै गर्दा माइखोला पारीको जंगलमा जब उनी आइपुगे तब झनै स्तब्ध भए। त्यहाँ उनले आफूसँगै लड्ने नेपाली सैनिक जसले उसलाई रुखमा बाँधेर रम खुवाएका थिए उनलाई काटिएको अवस्थामा बाटोमा फेला पारे। ‘माइखोलाभन्दा पारी पट्टी त मसँगको साथी त काटी राख्या रछ। कल्ले काटो, कल्ले काटो? गिँडमात्रै फेला पर्यो।’ उनले मलिन स्वरमा सुनाए। त्यसपछि उनी लगातार हिँडेर जनकपुर आइपुगे। त्यहाँ उनी २२ दिन बसे। त्यसपछि रामेछाप फर्किन उनलाई मन लागेन। कमाउन हिँडेको मान्छे एक पैसा नलिई के घर जानु भनेर उनी बिरक्तिए। रामेछाप गएनन्। त्यसपछि फेरि हिँडेरै काठमाडौं छिरे।
दोस्रो विश्वयुद्धमा सहभागी ललितपुरका खड्गबहादुर कार्की
मलाई राणा प्रधानमन्त्रीले धाप मार्यो
त्यसपछि उनी सिधै राणा प्रधानमन्त्री भएको ठाउँमा गए। विश्वयुद्ध लडेर आएको भनेपछि उनलाई प्रधानमन्त्रीले सिधै पुलिसमा भर्ना गरिदिए। ‘अहिलेको कुरा हो र यो। राणा शासनको पालाको हो। मलाई धाप मारेर भरना गरिदियो।’ उनले हौसिँदै भने। राणा शासन र सात सालको क्रान्तिको बारेमा भुक्तभोगी भएको उनले बताए। स्मरण शक्ति कमजोर हुँदै गएकाले उनी मितिहरु सम्झन सकिरहेका थिएनन्।
उनले अग्लो राणा प्रधानमन्त्रीसँग भेट भएको र उनले स्याबासी दिएको कुरा सुनाए। ‘कुन राणा प्रधानमन्त्री हो सम्झिनुस् न बा’ भन्दा उनी एकपटक रिसाए। ‘तपाईले देखेको छ र?’ उनी रिसाए। हामी हाँस्यौं। उनी पनि हाँसे। उनी हाँस्दै भने, ‘अग्लो, मोटो। उसको अगाडि उभिँदा हामी त फुच्चे हुने।’ उनले आफूलाई मुक्ति सेनाले सल्लाहकार राखेको र बेलाबेलामा सल्लाह लिन आउने गरेको बताए। धेरै साथीहरु मुक्ति सेनामा रहेको पनि उनले बताए। ‘कोही कता कोही कता भए।’ उनले भने।
महेन्द्रले तक्मा दिए
राणा शासनमै प्रहरीमा जागिर खाएका उनलाई राजा महेन्द्रले विश्वयुद्ध लडेर आएको भनी तक्मा दिए। उनले सुनाए, ‘महेन्द्रले दिएको एउटा तामाको एउटा चाँदीको तक्मा छ मसँग। बुढीले राखेकी छे।’ उनले सुनाए।
प्रहरीमा रहँदा उनी बेलाबेलामा लेलेसम्म आउँथे। प्रहरी सेवासँगै झारफुक पनि गर्थे। झारफुक गर्ने सन्दर्भमै भेट भयो उनको जीवनसंगीनीसँग। सिकिस्त विरामीलाई ठिक पारेपछि उनले उनैसँग विवाह गरे। पछि उनीहरुको एउटी छोरीको जन्म भयो, सुन्तली। अहिले ललितपुर इमाडोलमा पुगेकी छिन्। १२ वर्ष जागिर खाएपछि उनी सेवानिवृत्त भए। आज उनी त्यही प्रहरीको जागिरबाट आउने मासिक १४ हजार रुपैयाँ पेन्सनबाट गुजारा चलाइरहेका छन्।
सामाजिक काममा खड्कबहादुर
प्रहरी सेवाबाट अवकाश भएपछि उनी लेले बस्न थाले। त्यहाँ बस्दा बस्दै उनले वन संरक्षण गर्न एउटा समितिको स्थापना गरे। ‘सामूदायिक खत्री गाउँ पालेको वन’ समिति गठन गरेर त्यसको संस्थापक अध्यक्ष भए। उनको अगुवाइमा मन्दिरको पनि पुनःस्थापना भयो।
‘अहिले त मान्छे पनि धेरै। अझै बढ्छ। के के गर्छ, गर्छ। कुनै कुरा सत्य हुँदैन।’ उनले अहिले कानुननै नभएको बताए। कहिलेकाँही वर्माको युद्ध सपनामा आउँदैन? उनले हाँस्दै, ‘अब सपनाको के कुरा गर्नु?’
भूकम्पले भत्काएको टहरामा बस्ने र बिहान बेलुकी झड्केलो छोराले ल्याइदिएको खाना खाने गरेको उनले बताए। कुरा गर्दागर्दै श्रीमतीको लागि ल्याएको अक्सिजन सकिएको खबर आयो। उनी थोरै हतारिए। उनले दमको रोगी श्रीमतीको उपचार गर्न पाएका छैैनन्। भूकम्प पछिको राहत समेत पाएका छैनन्। कारण उनी सार्वजनिक जग्गामा बसेका छन्। उनले गम्भीर हुँदै सुनाए। ‘म सँग लालपुर्जा छैन।’
उनी हामीबाट बिदा भएर ठम्ठम् हिँड्दै छोराको घरतिर गए।
No comments:
Post a Comment