साइँलीले ती दर्शकलाई दुःखी बनाउँछ, जो भारतीय कमेडियन कपिल शर्माको सो हेरेर पेट मिचिमिची हाँस्छन् । त्यस्ता दर्शकलाई पनि दुःखी बनाउँछ, जो चकलेटी अनुहारवाला हिरोलाई आइडल मान्दै हलबाट बाहिरिन्छन् । र नेपाली समाजको बदलिएको सम्बन्धसँग कुनै सरोकार नराख्नेहरू पनि दुःखी हुनेछन् । तर, ती मानिसलाई फिल्मले खुसी बनाउँछ, जसका आफन्तले बालुवाको देशबाट रेमिट्यान्स पठाउँछन् । जसले आधा जीवन विदेशी भूमिमै बिताउँछन् ।
समाज बुझ्न साइँली हेर्नुपर्छ, साइँली बुझ्न समाज हेर्नुपर्छ । साइँली नेपाली समाज बुझाउने पाठशाला हो । साइँली बदलिँदो समाजको आँखीझ्याल हो । समाजविज्ञानका अध्येताहरूले एकपटक हेर्नैपर्ने फिल्म हो ।
पाँच प्रतिक्रिया
पहिलो, महिलाको भूमिका । नेपाली सिनेमामा आजसम्म प्रायः महिलालाई आइटम गीतमा कम्मर मर्काउने, निरीह बुहारी र हिरोको सहायकका रूपमा उभ्याइयो । नेपाली साहित्यको विराट फाँटमा महिलालाई सधैँ निरीह बनाएर प्रस्तुत गरियो । समाजको पिँधमा निरीह बाँच्न विवश बनाइएका जाति, लिंग, वर्ग र समुदायलाई कलाको मञ्चमा पनि निरीह नै बनाइयो । उल्टै विवशताको व्यापार गरियो । तर, साइँलीले यसलाई ब्रेक गरेको छ । फिल्ममा पितृसत्ताको धङधङी बोकेर बाँच्ने पुरुषलाई कमजोर बनाइएको छ । एउटी महिला पनि सिनेमाको नायक बन्न सक्छे भन्ने साइँलीले प्रमाणित गरेर देखाएको छ ।
दोस्रो, अर्थराजनीतिको चित्र । सन् १९९० को दशक नेपाली समाजका लागि विशिष्ट मोड थियो । सोही अवधिबाट नेपालले नवउदारवादी आर्थिक नीति अवलम्बन गरेपछि त्यसको प्रभाव कुनाकाप्चामा पर्यो । कृषिमा आधारित अर्थतन्त्र धराशायी हुन सुरु भयो । हलोको अनौ समाएर बसेका युवालाई खाडी पुर्याइदियो । करिब तीन दशकमा झन्डै ५० लाख युवा बिदेसिए । तीमध्ये ९० प्रतिशत पुरुष छन् । त्यही ९० प्रतिशतको वरिपरि नेपाली मिडिया र साहित्य क्षेत्र घुमिरह्यो । बिदेसिएका १० प्रतिशत महिला, जो युगौँको अनेकन बन्धन तोडेर खाडीको कुनै अनाम सहरमा पुगे, तिनीहरूको जीवनबारे कुनै सिनेकर्मीले सिनेमा बन्न लायक विषय देखेनन् । साइँलीले महिलाको त्यो उडानको गति प्रस्ट्याइदिएको छ । बेरोजगार श्रीमान् छाडेर बिदेसिने साइँली पितृसत्ताको ब्याजमा उँगिरहेका पुरुषका लागि ठूलो झापड हो ।
बिदेसिएकामध्ये १० प्रतिशत महिला छन्, जो युगौँको अनेकन बन्धन तोडेर खाडीको कुनै अनाम सहरमा पुगे । तिनीहरूको जीवनबारे कुनै सिनेकर्मीले सिनेमा बन्नलायक विषय देखेनन् ।
तेस्रो, समाजप्रतिको समझ । राम्रो सिर्जना गर्न देखावटी सहानुभूति र छिपछिपे ज्ञान होइन, समाजप्रतिको गहिरो बुझाइ चाहिन्छ भन्ने कहिल्यै बुझिएन । महँगो क्यामेरा, आइटम डान्स र समुद्रको छालमा छायांकन होइन, सामाजिक अन्तरसम्बन्धका जालो केलाएर हेर्न जान्नुपर्छ भन्ने कहिल्यै बुझिएन । यी सबै रुढ मानसिकतालाई साइँलीले दह्रो धक्का दिएको छ ।
चौथो, अर्थराजनीतिकमाथि कलाको जादु । कलामा राजनीति हुनुहुन्न भन्ने कुतर्क चियापसलदेखि विश्वविद्यालयका कक्षाकोठासम्म व्याप्त छ । तर, सुन्दर कलाभित्र सुन्दर विचार लुकेको हुन्छ भन्ने प्रमाण साइँलीले देखाएको छ । साइँली नेपालको बदलिँदो अर्थराजनीतिको कलात्मक प्रतिबिम्ब हो ।
पाँचौँ, मक्किएको पितृसत्ता । सिनेमाले पितृसत्ता मक्किएको संकेत गर्छ । पितृसत्ताको फेरिएको स्वरूपबारे सिनेमा प्रवेश गर्दैन । तर, जर्जर पितृसत्ताको चित्र भने सिनेमामा देख्न सकिन्छ । घरपरिवार धान्ने पुरुष मात्रै हो भन्ने मान्यतालाई धक्का दिएको छ ।
केही कमजोरी
सिनेमामा केही नमिल्दा पक्ष पनि छन् । विगतजस्तै युवतीको वरिपरि सिनेमालाई घुमाउने रामबाबुको पुरानो रोग साइँलीमा पनि देखियो । पिताम्बरका साथी वीरे (दयाहाङ राई)को चरित्रले न्याय पाएको देखिन्न । वीरे को हो ? उसको परिवार के भएको हो ? उसको पेसा के हो ? ऊ किन बेरोजगार छ ? ऊ खैनीको अम्मली किन भयो ? यस्ता प्रश्नको उत्तर दर्शकले नभेट्दा गोरेको चरित्र स्थापित हुन सकेको छैन । दयाहाङजत्तिको अब्बल अभिनेता त्यो ठाउँमा नभएको भए वीरेको भूमिका व्यर्थ हुन्थ्यो । दयाहाङलाई दर्शकले स्वतः स्विकारेका छन् ।
दर्शकलाई हँसाउन अनावश्यक दृश्य पनि राखिएका छन् । जस्तै– पीताम्बरले साइँलीका बुबालाई भकुन्डोले टाउकोमा हानेको दृश्य छ, जुन स्वाभाविक लाग्दैन । दर्शकलाई हँसाउने नाममा निर्देशक चुकेका छन् । भकुन्डोले बुबाको टाउकोमा लागेपछि साइँली हाँस्छिन्, अनि पीताम्बरसँग मस्किन्छिन्, जुन दृश्य सिनेमामा नराख्दा घाटा हुने थिएन । त्यस्तै, फिल्ममा एउटा गीत राख्नैपर्ने, नाच्न नआए पनि हिरोले कम्मर मर्काउनैपर्ने, फ्लासब्याकमा गएर हिरोले हिमालको काखैकाख हिरोइनको सल उडाउँदै नाच्नैपर्ने जस्ता थोत्रा फर्मुलाबाट निर्देशक मुक्त भएको देखिन्न । यद्यपि, यी दृश्यले सिनेमाको मूल पक्षलाई हानि गरेको भने छैन ।
No comments:
Post a Comment