Advertisement

Responsive Advertisement

छोरीलाई गीत काेसेली



 भरत लामाको संगीत लिएर आज पनि थुप्रै कलाकार देश–विदेश घुमिरहन्छन् । स्टेजमा गुन्जिरहन्छ, उनको संगीत । तर, भरत गुमनाम छन् । 

०५१ मै उत्कृष्ट संगीतकारको पुरस्कार जितेका भरत लामा (६०) हिजोआज संगीतको संसारबाट गुममान छन् । उनले गरेका संगीत युट्युब–ट्रेन्डिङमा पर्दैनन् । अखबारको भित्तामा पनि उनको तस्बिर छापिँदैन । उनी कुनै सेलिब्रिटी होइनन् । तर, धेरै कलाकारलाई सेलिब्रिटी बनाउन उनले जीवनका महत्वपूर्ण समय खर्चेका छन् । 

सिरहा गोलबजार नजिकै मुसहरनियाँ भरतको जन्मथलो । ६ पुस्ताअघि भोजपुरबाट मधेस झरेकोे थियो, उनको पुर्खा । बुबा (सुवालाल लामा) का साथी थिए, बंगाली क्लासिकल सिंगर । उनैले सिकाए भरतलाई संगीतको कखरा । 

०३० मा एसएलसी दिएपछि महेन्द्र मोरङ क्याम्पसमा आइकम पढे । ०३२ मा सिक्किम भारतमा बिलय हुँदा नेपालमा आन्दोलन भयो । त्यही आन्दोलनमा १३ दिन थुनामा परे । त्यसपछि ०३६ सालमा काठमाडौं आई पब्लिक युथ क्याम्पसबाट बिकम पास गरे र लागे चौथो महाधिवेशनको राजनीतिमा । ०४८ मा सिराहा क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवारी दिए । सम्झन्छन्, ‘सनक चढेर उम्मेदवारी दिएको थिएँ । अत्यधिक बहुमतले हारियो । त्यस्तै दुई अढाइ सयजति भोट आयो ।’

सायद राजनीति फापेन । सक्रिय हुन थाले, संगीतमा । गोपाल योञ्जनसँग संगीत सिक्दै रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा भाग लिन थाले । भूपाल राई, श्रवण मुकारुङ, शान्तिराम राई, रमेश क्षितिज, दिनेश सुब्बालगायतको समूह थियो, उनीहरूको । सबैजना प्रतियोगितामा भाग लिन्थे । सम्झिन्छन्, ‘मैले संगीत गरेको गीत प्रतियोगिताको टपटेनभित्र पाँचवटासम्म पथ्र्यो ।’

०५० मा सुरेश अधिकारीले गाएको गीत प्रतियोगितामा दोस्रो भयो । रमेश क्षितिजको शब्दमा राजेश पायल राईले गाएको गीत तेस्रो भयो । दुवै गीतमा भरतले संगीत दिएका थिए । ०५१ सालमा भरत प्रथम भए । उत्कृष्ट संगीतकारको पुरस्कार जिते । त्यसपछि भरतको चर्चा चुलियो । उनलाई संगीत गरिदिनु भन्नेको भिड लाग्न थाल्यो । त्यही वेला उनले अरुण थापा, अरुणा लामा, भक्तराज आचार्य, दीप श्रेष्ठलगायतसँग पनि संगत गरे । अरुणा लामासँग युगल गीत पनि गाए । दीप श्रेष्ठसँग उनी निकै नजिक भए । 

रमेश क्षितिजको शब्द, भरतको संगीत र राजेशपायलले गाएको गीत ‘नमाग मसँग जून–तारा नमाग’, निकै रुचाइयो । नायिका पूजा चन्दले लेखेको ‘नटुंगिने गोरेटो यो...,’ गीत पनि निकै रुचाइयो । रमेशकै शब्दमा केशव उप्रेतीले गाएको गीत ‘दसँै सम्झँे तिहार सम्झँे...’, गीत पनि निकै चर्चित भयो । 

रेडियो नेपाल धाउँदा पाएको पुरस्कार र तिरस्कार भरतको स्मृतिमा ताजै छन् । भन्छन्, ‘मेरा गीत श्रोताले फर्माइस गरेपछि मात्रै जबर्जस्ती बजाइन्थ्यो । अरू वेला त्यहाँका कर्मचारी आफ्नो गीत आफ्नै फर्माइसमा बजाइरहन्थे ।’ तर, रेडियो नेपालभित्र केही माया गर्ने संगीतकर्मी पनि भेटे । भन्छन्, ‘पाण्डव सुनुवार, तीर्थ गुरुङ, धन लामा, राम थापा दाइ र दिदीहरूले असाध्यै माया गर्नुहुन्थ्यो ।’

०००

समय उस्तै रहेन । सूचना प्रविधिको प्रवेशसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको वर्चस्व तोडियो । देशैभर एफएम स्टेसन र टेलिभिजन खुल्न थाले । धेरै रेकर्डिङ स्टुडियोहरू खुले । गम्भीर संगीत साधकहरू बिस्तारै ओझेल पर्न थाले । कुना पसेर हार्मोनियमको सुरमा नयाँ संगीत आविष्कार गर्न हराएका संगीत मर्मज्ञहरू हराएको हरायै भए । उनी भन्छन्, ‘संगीत नै नबुझ्नेहरू संगीतकार हुँ भन्दै आए । सुर नै नचिनेकाहरू गायक हुँ भन्दै आए । बेसुरा स्वरलाई पनि मेसिनले सुर मिलाउन थालेपछि अपमानित महसुस गरेँ ।’ 


संगीतकार भरत लामा भन्छन्, ‘संगीत नै नबुझ्नेहरू संगीतकार हुँ भन्दै आए । सुर नै नचिनेकाहरू गायक हुँ भन्दै आए । बेसुरा स्वरलाई पनि मेसिनले सुर मिलाउन थालेपछि अपमानित महसुस गरेँ ।’

अब भरतको जीविका र संगीत साधनाबीच द्वन्द्व बढ्न थाल्यो । भन्छन्, ‘गला छ, कला छ, सिर्जनशीलता पनि छ, तर पैसा छैन ।’ अन्ततः उनी संगीत साधना थाती राख्न बाध्य भए । ‘सेभ द चिल्ड्रेन’को प्रोजेक्ट कोअर्डिनेटर भएर तीन वर्ष काम गरे । त्यसपछि दुर्गम विकास क्षेत्र समितिको सुब्बा भएर रसुवा पुगे । सुब्बाको जागिर छाडेर उतै पढाउन थाले । 

करिब एक दशक जीविका चलाउने ध्याउन्नमा हराएपछि अढाइ लाख जम्मा गरेर एल्बम निकाले । गीत गाउने ती कलाकारको नाम नलिई भरत भन्छन्, ‘उनलाई मैले ३२ हजार पैसा तिरेर गाउन लगाएँ । उनी त्यही गीत गाउँदै अमेरिका पुगे । म जहाँको त्यहीँ ।’ 

नयाँ एल्बम निस्किएपछि एउटा लोकप्रिय एफएमले अन्तर्वार्ताका लागि उनलाई बोलायो । उनी गीतको सिडी लिएर गए । अन्तर्वार्ताका क्रममा गीत बजाउन खोज्दा कार्यक्रम सञ्चालकले भने, ‘गीतको क्वालिटी पुगेन सर ।’ त्यसपछि गीतको सिडी डस्टबिनमा फ्याँकेर एफएम स्टेसनबाट बाहिरिए ।

कत्तिले भरतलाई मुडी संगीतकार भन्छन् । कत्तिले ‘मदिरापानमा मस्त’ संगीतकार पनि भन्छन् । उनी स्विकार्छन्, ‘कलाकार मुडी नै हुँदो रहेछ । म पनि मुडी नै छु ।’ तर, संगीतकर्म छाडेनन् । एफएमले गीत बजाउन छाडे पनि गायक–गायिकाले गुन बिर्सिए पनि, उनले हार्मोनियममा संगीत खोज्न छाडेनन् । गीत रेकर्ड गराइरहे । दीप श्रेष्ठ, उदय सोताङ, मुरलीधर, राजेशपायल राई, अन्जु पन्त, जगदीश समाल, यम बराल, रेस्मा सुनुवार, सुरेश अधिकारीलगायतले उनले संगीत भरेको गीत गाए । 

हार्मोनियममा नयाँ लय अन्वेषण गर्ने भरतको जीवनको वास्तविक लय भने कहिल्यै बदलिएन । उही दुःख, उही अभाव । रिंगी रहे– कहिले झापा, कहिले गोलबजार, कहिले काठमाडौंका चोक गल्ली । संगीत साधना र जीवन बाँच्ने ध्याउन्नबीच अन्तहीन रस्साकस्सी चलिरह्यो । बजारले भरतलाई चिनेन । भरतले पनि बजारलाई मतलब गरेनन् । बजारको ‘काउन्टडाउन’ सूचीका गायक–गायिकाले पनि भरतलाई बिर्सिदिए । भरत पनि के कम, कसैले नचिनेको बाटो हिँडिरहे एक्लै ! 

०००

भरतसँग सवा सयभन्दा धेरै गीत छन् बेवारिसे । सुनाउँछन्, ‘पार्टी जतिसुकै गतिलो भए पनि प्रवक्ता गतिलो भएन भने के गर्नु ? मेरो गीत यस्तै भए ।’ उनी गम्भीर हुँदै भन्छन्, ‘पैसा हुनेसँग स्वर नहुने, स्वर हुनेसँग पैसा नहुने । त्यो अप्ठ्यारोमा मेरा धेरै गीतहरू परे ।’ 

यी गुमनाम संगीतकारका संगीत लिएर आज पनि कलाकारहरू देश–विदेश घुमिरहन्छन् । स्टेजहरूमा गुन्जिरहन्छ, उनको संगीत । तर, उनी पर्दापछाडि छन् । कसैले भरतको नाम लिँदैनन् । भरतको संगीतको राग पछ्याउँदै छोरी (एलिमित लामा) आएकी छिन् । उनलाई विश्वास छ, छोरी पक्कै धरातल बिर्सिएर दूर देश जानेछैन । खल्तीको कुनामा थन्किएका गीत–संगीतले उनीबाट नयाँ जीवन पाउनेछन् । भन्छन्, ‘छोरीको गलाबाट मेरो संगीतले पक्कै न्याय पाउनेछ ।’

०००

अहिले उनी झापा बसाइँ सरेका छन् । काठको घर बनाएका छन् । कुनामा छ, उनको पुरानो हार्माेनियम । हार्मोनियमका नटहरूमा नयाँ संगीत खोजिरहन्छन्, सधँै । नयाँ संगीत बटुलेर दौडिँदै आइपुग्छन्, काठमाडौं । छोरीलाई संगीत सुनाउँछन्, अनि मनमनै जोड्छन्, स्टुडियो खर्च । 

यसपटक पनि भरत नयाँ गीत र संगीत लिएर काठमाडौं आएका छन् । सांगीतिक जीवनका ती दिन पल्टाउँदा–पल्टाउँदै छोरीको लागि सहर ल्याएको गीत गुनगुनाउन थाले । अलाप तानिरहँदा आँखाको डिलबाट आँसु खस्न थाल्यो । काँधमा झुन्डिरहेको देहाती गम्छाले आँसु पुछे । अनि लामो सास तान्दै भने, ‘छोरीलाई अरू के दिन सकुँला र ? यही गीत दाइजो दिँदै छु ।’ 
    
चाँदीको जोर बाला लाइरैछु
मायाले दिनुभो आप्पाले 
चौबन्दी तुनामा बिनायो
मुचुंगा दिनुभो आमाले 

कुन दिशा घर गरी खान्या हुँ
सासूमा कस्ती पो पन्र्या हुन् 
आमाज्यू नन्द खुसाउन
क्याअरी बुहार्तन् गन्र्या हुँ
खसम त अरबै जान्या हुन्, सियोमा मन उनी बस्न्या हुँ 

चित्तले पिरेम लाउँ भन्दा
सकिनँ माइतीको डरैले 
मन बग्यो साउने भेलैमा
कुमारी बसूँ कि करैले 
खसम त अरबै जान्या हुन्, सियोमा मन उनी बस्न्या हुँ


Post a Comment

0 Comments