Saturday, 18 September 2021
New
अपरिचित मान्छे
कथा
राजु स्याङतान
उपत्यका बाहिरबाट काठमान्डुमा केही गर्छु भनेर आउँनेहरुका लागि बाह्रमासे ड्युटी हो कोठा खोज्नु । केही समय कतै बस्यो, अनि फेरि कोठा खोज्यो, सर्यो, सरिरह्यो । बल्ल बल्ल पाए पनि विविध अड्चन झेल्नु पर्छ ।
करिव तिन हप्ता खोजेपछि बानेश्वर बुद्धनगरमा एउटा मध्यम स्तरको कोठा पाएँ । घरबेटीले रंगरोगन गरे पनि बसौं लाग्ने भने थिएन । खानेकुराका टाटाहरु, कार्पेटको टुक्राटुक्रि, नपल्टिएको भित्तेपात्रो, चुरोटका ठुटाठुटी, फ्याँकिएका कापीहरु । यी नै थिए कोठाको शौन्दर्य ।
मन खुम्च्याउँदै सफा गर्न थालेँ । छेउमा एउटा पुरानो कापी झ्यालबाट फुत्किएर आएको हावासँगै फरफराई रहेको थियो । अगाडि पछाडिको भाग जलेको थियो । मुस्किलले 'काठमाण्डु 'भन्ने शिर्षक पढेँ । हेर्दा दैनिकी जस्तो लाग्यो । जिज्ञासा लाग्यो । सफा गर्न छाडेर पढ्न थालेँ ।
काठमाण्डु !
तिमीसँग मित्रता गाँसेको पनि आज १० वर्ष पुगिसकेछ । याे १० वटा हिउँदहरु तिम्रो चौतारीमा विताएँ मैले । वितेकाे १० वर्षमा कति रात भाेकै सुतेँ, कति रात राेएर बिताएँ, त्यसकाे हिसाव अहिले नगराैं । यो १ दशक तिमीसँग मैले कुनै ठुलो अपेक्षा राखिनँ । न त गरेँ कुनै कुकर्म नै । बस्, तिमीले घचेँडी रह्यौ, म हिडीँरहेँ ।
कहिलेकाँही यस्तो पनि लाग्थ्यो, तिम्रो र मेरो सम्बन्ध नङ र मासुको जस्तो छ । माछा र पानीको जस्तो । हामी एक अर्काका परिपूरक । तिमी छौ र त म छु । म छु र त तिमी छौ । एक अर्का बिना अधुरो हामी । यस्तै सोंचेर १० वटा वर्षाहरु तिम्रो छहारीमा बिताएँ ।
जव तिमी फोहरको डङ्गुरले घिनाउँदै रुन्थ्यौ, म भोको पेटमा पटुकी कसेर रातदिन तिमीलाई पसिनाले नुहाई दिन्थेँ । जब तिमी विजुली, ग्याँस, पेट्रोलको हाहाकारले चिच्याउँथ्यौ, म एक मुठी सातु खाएर अध्यारो मै निदाउँथे अनि कामना गर्थें, तिम्रो भागमा उज्यालो परोस् । तिमी अव्यवस्था, अस्थिरता, कुशासनबाट क्षतविक्षत भएर सिमा पारी भाग्थ्यौ । म जनआन्दोलन, जनयुद्ध भएर सागर झैं उरिन्थेँ र तिमीलाई माथी माथी उकाल्थेँ । तिमी सपनाको दुनियाँमा नयाँ नयाँ अपार्टमेन्ट र कोलनी चहार्दै हिड्थ्यौ । म पसिना बनेर तिम्रो पैतलामा पोखिन आई पुग्थेँ । तिमी हिँड्ने बाटोहरु भत्किएर खाडलै खाडल हुन्थ्यो । म त्यही खाल्टाेमा पसेर तिमी हिँड्ने बाटाे सम्म बनाइदिन्थेँ । तर खै त काठमाण्डु ? तिमी र म एकै भएको ?
दुई नदीको किनार जस्तो तिमी सधैं तारैतारा झुल्ने होटलहरुमा गएर सुनको थालमा ज्यूनार गर्छौ । म सधैं अभावले चिथोरिएको एक जोडी नाङ्गो पैतला घिसार्दै भोकै वारी किनारै किनार हिडीँरहेको हुन्छु । मैले बनाएको अग्लो अग्लो टावरहरुमा तिमीले गणतन्त्रका नाराहरु लेख्याै । मेरो आँशु पोखिएर बनेको दियोमा शान्तिको पानसहरु जलायौ । तर खै त काठमाण्डु ? मेराे जीवन फेरिएकाे ? म त उही किनारामै छाडिएँ ।
अस्ति माइतीघरमा एक जनाले भाषणमा भन्दै थियो,‘नेपाल गणतान्त्रिक मुलुक हो । यहाँ सबै बराबरी हुनुपर्छ । जसले पसिना बगाएर मेहनत गर्छ, उसैको घरमा पहिला दुईछाक मिठो पाक्नुपर्छ । अनि मात्र साँचो गणतन्त्र नेपाल हुन्छ । आउँनुस् गरिव दुःखी जनताहरु मेरो पार्टीको झण्डामूनि गोलबन्द हुनुस् ।’ म त्यस दिन धेरै खुशी भएँ ।
भोलीपल्ट उसले भनेकाे कार्यालय पुगेँ । गेटबाटै मान्छेहरु लाईन लागेका थिए । उनीहरुले लाइनकाे अन्तिममा उभिन लगाउँदै भने, ‘कतार जाने भए लाईन बस् । यहाँबाट छिटो हुन्छ ।’ क्षण भरमै गणतन्त्रको रंगिन सपना सिसा झैं फुट्यो । के यहि हो काठमाण्डु नयाँ नेपाल भनेको ?
सुन ! अर्को पनि कथा भन्छु म । सात वर्ष अगाडि तिमीले मलाई एउटा मोटरसाइकल किस्ताबन्दीमा दियौ । तर मैले अहिलेसम्म पनि त्यो किस्तावन्दी तिरीसकेको छैन । मोटरसाईकल परार साल कवाडीमा बेचिसकेँ । आज मेरो प्रत्येक मिनेटको पसिनाहरु किस्ताबन्दीमा परेको छ । पसिनासँगै मेरो सपना, मेरो भविष्य सबै सबै किस्तावन्दीमा बन्दी भएकाे छ । भन काठमाण्डु, के यही हो समाजवाद भनेकाे ?
तिमीलाई फुर्सद छैन होला । तर तिमीले मेरो गन्थन सुन्नै पर्छ । तिमीलाई सिंगार्ने प्रत्येक गरिबहरु सहरबाट पलायन हुँदै गयो भने भोलि तिमीलाई कसले बनाउँछ ? याद गर काठमाण्डु, हामी बिना तिमी अधुराे छाै ।
काठमाण्डु आज म तिमीसँग पहिलो र अन्तिम पटक मेरो कहानी भन्दैछु । फुर्सद छ भने सुन, छैन भने नसुन । म गाउँमा विशिष्ट श्रेणीमा एसएलसी पास गरेर धेरै पढ्ने सपना सजाएर काठमाण्डु आएँ । राजमार्ग छेउमा दाउरा बेचेर मेरी एक्ली आमाले यो भन्दा धेरै पढाउँन सक्ने अवस्था पनि थिएन । मैले जागिर खाएर आमाको आँशु पुछ्नु थियो । अचानक आमालाई बिमारले च्याप्यो ।
राजमार्ग छेउको घरबारी सबै बेचेर आमाकाे उपचार गरेँ, रोग २० को १९ भएन । वीर अस्पतालको आइसियुमा आमा जीवन मृत्युको दोसाँदमा छट्पटाउँदै हुनुहुन्थ्यो । तीन लाख खोज्दै म भौतारिएँ । सडक किनारमा आमाको फोटो राखेर भीख पनि मागेँ । तर केही उपाय लागेन । अन्ततः आमाले मलाई एक्लै छोडेर जानु भयो ।
मेरो कहानी आमासंगै सुरु भयो, आमासंगै सकियो । म को हुँ, कसको छोरा हुँ अब चिनारी छैन मसंग । काठमाण्डु अरु पनि सुन्छौं ? भो तिमीसँग सुन्ने कान छैन । हेर्ने आँखा छैन । अनुभव गर्ने मन छैन । तिमी त सिमेन्टीले बनेका छाै ।
भोली बिहान कोठाभाडा दिइनँ भने घरबेटीले मलाई निकाल्छ । कुनै उपाए आएको छैन । यो राती अब मैले कहाँबाट खोजेर ल्याउँ १० हजार रुपैयाँ । ठेकेदारले पनि काम मात्रै लगाउँछ, पैसा दिने बेला मोबाइल अफ गरेर भाग्छ । मैनबत्ति सकिन लाग्यो । यो मैनबत्तीसँगै सकिन पाए पनि हुन्थ्यो ।
काठमाण्डु म तिमीसँग बस्दिनँ अव । भनिदेउ शहरका यी सारा अग्ला-अग्ला घरहरुलाई, ‘तिमीलाई बनाउने मान्छे एक पेट खान नपाएर नाकढुंगा काटेर गयो । अब उ कहिल्यै फर्केर आउने छैन ।’
तर यी अग्ला घरहरुले सुन्ने छैनन् । किनकी अग्ला घरहरुको कान छैन । आँखा छैन....मन ....।
०००
त्यसपछिका अक्षरहरु चुरोटको ठुटासँगै जलेको थियो । मन छटपटिन थाल्यो । त्यो अपरिचित मान्छे को होला ? कहाँ गयो होला ? कोठाको कुना कुना उसको नाम, मोबाईल नम्बर, ठेगाना, इमेल आइटी भेटिन्छ कि भन्दै खोजेँ । तर केही पनि भेटिनँ ।
घरबेटीलाई सोधेँ। घरबेटीले रुखो जवाफ दियो,‘एक हप्ता अगाडि उ त्यो झ्याल फोरेर भाग्यो । साला कंगाल ।’
म स्तब्ध भएँ । सहर बनाएर सहरमा नअटेको त्यो श्रमिक कहाँ गयो होला ? यो काठमाण्डौंदेखि हारेको एउटा साथी कहाँ गयो होला ? संघर्षका विभिन्न ढोकाहरु ढक्ढक्याउने प्रयत्न गर्न छाडेर त्यो अपरिचित मान्छे कहाँ गयो होला ?
भुँईमा थचक्क बसेँ । आफ्नै समस्याका चाँङहरु वरिपरि घुम्न थाल्यो । कागजको टुक्राहरुमा मेरो आफ्नै समस्याका अनगिन्ति प्रश्नहरु देख्न थालेँ । त्यो अपरिचित मान्छेको छाया चुरोटको ठुटाहरुमा देख्न थालेँ । एकाएक त्यो अपरिचित मान्छे कोठाको कुनामा पो देखियो ।
अस्तव्यस्त कपाल, अस्तव्यस्त दारी जुँगा । नमाझेको दाँत । हप्तौंदेखि नधोएको अनुहार । लामो लामो नङ । पटपट फुटेको पैताला । बाहुला च्यातिएको सर्ट । हिलोले आधा निलेको टाउचर । उ मेरो अगाडि खिस्स दाँत देखाएर छिनमै हाँस्न थाल्याे, छिनमै रिसाउँन थाल्याे । अनि छिनमै रून थाल्याे ।
उसले चिच्याउँदै भन्यो, ‘म यो सिसा फोडेर भागेँ । तँ आइपुगिस् ? थुक्क पाजी । सुन्, यो काठमाण्डु धनीहरुको लागि मात्रै हो । यहाँ कि किन्न सक्नु पर्छ, कि बेचिन तयार हुनुपर्छ । तँ हामी जस्ता दुई कौडीका मजदुरहरु ट्वाइलेट जाम भएको बेलामात्रै हो काठमाडौंले सम्झिने । यहाँ मानवता , माया, प्रेम किलाेकाे भाउमा बिक्री हुन्छ । स्वाभिमान टुँडिखेलमा झुन्डिएर मरिरहेकोछ । यहाँ स्वार्थ, पाखण्ड, ढोङीहरु मात्र बाँच्न सक्छ । याे मुकुन्डाे बिग्री हुने सहर हाे । यहाँ मान्छेहरू मुटु बेचेर मुकुन्डाे किन्छन् । तँ भागिहाल् यहाँबाट ।’
उ मेरो अगाडी ठिङ्ग उभिएर बोलीरह्यो । उसलाई एकोहोरो हेर्दाहेर्दै उ, म जस्तै पो देखिन थाल्यो । ठ्याक्कै म जस्तै । अब म जस्तै अर्को मान्छे कोठामा मेरो वरिपरि घुम्न थाल्यो । म जे जे गर्छु, उ त्यही त्यही गर्न थाल्यो । म आत्तिएँ । सास बढ्न थाल्यो । मुटु ढुकढुक गर्न थाल्यो । हतार हतार कोठाबाहिर आएँ । झ्याम्म ढोका लगाएँ । भित्रबाट ड्वाँङ ड्वाँङ गरेको आवाज आइरह्याे। म स्याँस्याँ गर्दै सडकतिर दाैडिएँ ।
उ चिच्याएर भन्दै थियो, ‘मलाई नथुन् । म यहाँ बस्दिनँ । मलाई नथुन, म यहाँ बस्दिनँ ।’

About Raju Syangtan
Soratemplates is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design
कथा
Product Tags:
कथा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment