कांग्रेसले विसं २०३० सालमा अपहरण गरेको जहाजका अवशेष जोडेर उनी दुरुस्तै देखाउने उपक्रममा थिए । ३० जेठ ०३० मा विराटनगरबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन एबीबीको ट्विनटर जहाज काठमाडौं अवतरण नभइ भारत फारबिसगन्जको घाँसे मैदानमा अवतरण गराइएको थियो । राष्ट्रबैंकको ३० लाख भारु लिएर उडेको जहाजलाई अपहरण गर्न सघाएका थिए, पूर्वप्रधानमन्त्री सुशील कोइराला र कांग्रेस नेता चक्र बाँस्तोला लगायतले । काम फत्ते भइसकेलगत्तै छाडिएको यो जहाज नेपाली आकाशमा ४० वर्ष निरन्तर उड्यो ।
४ फागुन ०७० मा अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त भएपछि भग्नावशेषलाई ट्रकमा राखेर नेपालगन्ज लगियो । त्यही विमानका अवशेषलाई जोडेर दुरुस्तै विमान बनाउन खोज्दै थिए, उनी । चितवनबाट जीविकोपाजर्नको लागि भौतारिँदै श्रीप्रसाद ०३७ सालतिर काठमाडौं पसे । बालाजुस्थित निसान कम्पनीको ग्यारेजमा जीवनको दुई दशक बिताए । गाडीको इन्जिनदेखि बडी बनाउने काममा उनी निपूर्ण थिए । पछि आफ्नै लगानीमा सानोतिनो वर्कसप त खोले तर चलाउन सकेनन् । देशभर सल्किएको सशस्त्र युद्धले काठमाडौंका यी मजदुरलाई पनि छोयो ।
उनी ०५६ सालमा माओवादी पार्टीमा संगठित भए । लुकीलुकी पार्टीलाई सघाउन थाले । उनको कार्यक्षेत्र थियो, तत्कालीन उपत्यका ब्युरो । उनी मजदुर संगठन पूर्वी इलाकामा कार्यरत थिए । ०६२/६३ पछि उपत्यकाको मजदुर इकाइ कमिटी अध्यक्ष रहे । ०७० मा आइपुग्दा उनी अटोमेकानिक मजदुर संघको केन्द्रीय अध्यक्ष नै भए ।
अनाथालयमा छोरी
संगठनको पछि लाग्दालाग्दै उनको जीवनको अर्को पाटो छुट्यो । चितवनमा भएको तीन छोरी र एक छोरा आमाविहीन हुन पुगे । ०६१ सालमा जीविकोपार्जनका लागि खोलेको होटेल, दुई छोरा र एक छोरी छाडेर उनकी श्रीमती अन्तै गइन् । उनले सुस्तरी सुनाए, ‘मैले घरमा समय दिन सकिनँ ।’ त्यसपछि उनको जीवनले नयाँ मोड लियो । अब पार्टीको झण्डा बोकेर मात्रै नहिँड्ने सोचमा पुगे, उनी । छोराछोरी हुर्काउन थाले, तर उपाय लागेन । पुरानो हजाईजहाज मर्मत गर्ने कामले मात्रै उनको जीविका चलेन । तीन चार वर्षमा एकपटक पाउने कामले जीविका नचल्ने भयो । अन्ततः उनले छोरीहरूलाई ०६४ सालमा भैंसेपाटीस्थित आशा गृह आश्रम अनाथालयमा लगेर राखे ।
बालाजुस्थित निसान कम्पनीको ग्यारेजमा श्रीप्रसाद गुरुङले जीवनको दुई दशक बिताए। गाडीको इन्जिनदेखि बडी बनाउने काममा उनी निपूर्ण थिए। उनले पछि आफ्नै लगानीमा सानोतिनो वर्कसप त खोले तर चलाउन सकेनन्।
दुई अनाथालयमा छोरीहरू राखेर उनी काम खोज्दै हिँड्न थाले । उनका सानैदेखिका साथी थिए, सीबी लामा । उनैले दुर्घटनाग्रस्त हजाईजहाजका टुक्राटाक्री उठाएर ल्याउने काम दिलाइदिए । त्यसपछि उनी दुर्घटनास्थल पुगेर जहाजका टुक्रा काट्ने काम गर्न थाले । सबैभन्दा पहिला नेपाल एयरलाइन्सको विमानलाई धनगढी गएर समान उठाउने र काट्ने काम गरे । त्यसपछि रामेछाप, बागलुङ, रसुवालगायत स्थानमा गई दुर्घटनाग्रस्त विमानको टुक्रा बटुल्ने काम गर्न थाले । पछिल्लो समय उनले सिनामंगलमा बन्दै गरेको संग्रहालयमा काम गरिरहेका छन् । कामकै सिलसिलामा उनी कयौं पटक त्रिभुवन विमानस्थल पुगे । एयरपोर्टभित्र उनलाई ठूलो काम भने मिल्दैन ।
विमानको स–सानो काम पाउँछन्, उनले । चराले प्वाल पारेको विमानलाई अनुभवी विशेषज्ञले टाले पनि उनी रंग लगाउन पुग्छन् । टालेको ठाउँमा नटबोल्ट कस्ने जस्ता साना काम उनको भागमा पर्छ । ‘एयरपोर्टभित्र कयौं पटक गएर हवार्ईजहाजमा रंग लगाएको छु । कतै कतै टालेको पनि छु ।’ उनले भने । पछिल्लो एक वर्षअघिदेखि उनले पाएको काम हो बीपी संग्रहालयमा पुरानो हवाईजहाजलाई दुरुस्तै बनाउने ।
त्यहाँ उनको एक वर्ष बित्न लागेको छ । प्रत्येक दिन बिहान थोत्रो मोटर मोटरसाइकल कुदाएर कोटेश्वर डेराबाट उनी बीपी संग्रहालय पुग्छन् । दिनभरि नक्सा हेर्दै हवाईजहाजलाई दुरुस्तै उतार्ने कोशिस गर्छन् । कहिल्यै विमान नचढेका उनी बनाउनचाहिँ कसरी बनाउछन् होला ? मुसुक्क हाँस्दै भन्छन्, ‘यसबारे पढेको छैन, तर टुक्रा बटुलेर काटकुट पार्दापार्दै थाहा भइसक्यो ।’
अब पानी रोकियो । उनी काममा जान हतारिए । सिमसिम पानीको पर्वाह नगरी उनी फटाफट बाहिरिए । भर्याङ लगाएर जहाजमाथि चढे । ककपिटमा गएर इन्चिटेप लिएर नाप्न थाले । उनले माथि बोलाएर चोर औंलाले देखाउँदै भने, ‘उ त्यहाँ बस्छ पाइलट ।’ फलाम काट्नु, जोड्नु, फेरि काट्नु र फेरि जोड्नु दशकौंदेखिको पेसा हो, श्रीप्रसादको । कैयौं हवाईजहाज रंगाइसकेका उनको जीवन भने रंगहीन बितिरहेछ । मानिस हेर्न आउनेछन्, अब यो जहाजलाई । तर, उनको जिन्दगी म्युजियमको निर्जीव वस्तुभन्दा गुमनाम भएर बित्नेछ कतै ।
No comments:
Post a Comment