नेपाली रुँदै हिँड्ने दिल्लीको गल्ली
दिल्लीमा नेपालीहरू भोकले रुने ठाउँ हो पहाडगञ्ज, रोगले रुने ठाउँ हो रोहिणी । उहिले मुग्लान जानेहरू अहिले रेगिस्तान जान थालिसके । तर, पहाडगञ्जमा अझै पनि नेपाली ‘बहादुर’हरू आफूूभन्दा ठुलो भारी बोकिरहेका भेटिन्छन् । नेपालमा लाखौँ खर्चिन्छन् र जीवन बाँच्ने अन्तिम विकल्प खोज्दै दिल्लीको सोमबजारवरपर थकित शरीर घिर्सिंदै भौँतारिरहेका भेटिन्छन् । अहिलेलाई यो कथाचाहिँ नेपालीहरू रोगले रुँदै हिँड्ने सोमबजारको हो, नेपालदेखि दिल्लीको अस्पताल हुँदै सोमबजारआसपास भौँतारिनेहरूको हो । दिल्लीको सोमबजारलाई गरिब इलाकाको रूपमा चिनिथ्यो । चहलपहल शून्य । तर, जब सन् १९९६ मा राजीव गान्धी क्यान्सर अस्पताल सोमबजारनजिकै बन्यो, यो क्षेत्र चम्किन थाल्यो । राजीव गान्धीमा उपचार गर्न नेपालसँगै बंगलादेश, श्रीलंका, अफगानिस्तान, इरान र इथोपियाबाट समेत मानिस आउन थालेपछि सोमबजारको कायापलट सुरु भयो । बाहिरियामध्ये सबैभन्दा धेरै नेपाली नै आए । भाडामा दिन घरघरमा लिफ्ट जडान गरियो । त्यसपछि भित्तामा, चोकमा, बाटोमा सूचना टाँसियो, ‘कैंसरके मरिजोंकेँ लिए कमरे उपलब्ध हें ।’ उपचारका लागि दिल्ली पुगेका नेपालीले किनमेल ...