‘एक सय पाउन्ड ! तपाईंले गलत पढ्नुभयो होला,’ मास्टरलाई भनेँ ।
‘होइन, गलत पढेको छैन । यहाँ छ पैसा,’ यति भन्दै मास्टरले एउटा सानो कागज दियो । ‘के हो यो ?’ मैले सोधेँ । ‘यो मनी अर्डर हो । यो मनी अर्डर लिएर डारपुरको हुलाक कार्यालय जानुस् । यो कागज साटेर एक सय पाउन्ड पाउनुहुनेछ । हुलाकको कर्मचारीले तपार्इंलाई त्यो पैसा दिनेछ’, मास्टरले भन्यो ।
‘एक सय पाउन्ड !’ छक्क पर्दै फेरि सोधेँ ।
सबैजनाले हाँस्दै भने,‘आदम तपाईं अब धनी बन्नुभयो । तपाईंले अब खेतबारी र घरमा चाहिने धेरै कुरा किन्न सक्नुहुनेछ ।’
‘डारपुरमा धेरै मिठो खानेकुरा किन्छु । तपाईंहरूलाई भोज खुवाउनेछु,’ मैले साथीहरूलाई भनेँ । मार्थाले भनिन्, ‘सौल ज्ञानी छोरा हो ।’ त्यो साँझ गाउँलेहरूले मनी अर्डर र मैले पाउने पैसाको बारेमा धेरै बेर कुराकानी गरिरहे । हामीले पनि पैसाका बारेमा धेरै बेर कुराकानी गर्यौँ ।
डारपुर
अर्कोे दिन म बिहान चाँडै उठेँ । सबैतिर अँध्यारो थियो । सबैजना निधाइरहेका थिए । नुहाएँ, अनि मसँग भएको सबैभन्दा राम्रो लुगा लगाएँ । सबैभन्दा राम्रो लौरो बोकेँ । मनी अर्डरलाई जतनले गोजीमा राखेँ र श्रीमतीसँग बिदा लिएँ ।
मूल सडक पुग्न १५ किलोमिटर हिँडेँ । मुल सडकमा पुगेपछि छेउमा बसेँ र घरबाटै लगेको खाजा खाएँ । दुई घन्टा कुर्दा बल्ल बस आयो र त्यसमा चढेँ ।
डारपुर टाढा छ । त्यहाँ पुग्न बसले तीन घन्टा लगाउँछ । म डारपुर पुग्नासाथ हुलाक कार्यालयतिर सिधै गएँ । म डारपुर धेरै जाँदिनँ । मलाई बजार र एउटा पसल मात्रै थाहा छ । त्यो रिकको पसल हो । मैले रिककै पसलबाट खेती किसानीका सामानहरू किन्ने गरेको छु । हुलाक कार्यालयभित्र मान्छेहरूको भिड थियो । मैले मनी अर्डरको काम कहाँ हुन्छ भनेर सोधेँ । एकजनाले मलाई मान्छेहरूको लाम देखायो । त्यो लाम धेरै लामो थियो र म त्यसको पछाडि गएर उभिएँ ।
म लामको सबैभन्दा अगाडि थिएँ । बल्ल मेरो पालो आयो । तर, कर्मचारीले मलाई वास्ता गरिरहेको थिएन । ‘ए भाइ ! मेरो पालो हो ?’ मैले भनेँ ।
‘अहिले म व्यस्त छु बुढा,’ कर्मचारीले रुखो स्वरमा भने, ‘कागजको थुप्रो हेर्नुस् । मान्छेको भिड हेर्नुस् । म अहिले धेरै व्यस्त छु । पर्खिनुस् ।’ उनले यसो भनेपछि मैले पर्खिन थालेँ ।
बल्लबल्ल मलाई कर्मचारीले हेर्यो । ‘तपाईंलाई के चाहियो ?’ उसले सोध्यो । मैले उसलाई मनी अर्डर दिएँ ।
‘यो मेरो सय पाउन्डको मनी अर्डर हो,’ मैले उत्तर दिएँ । उसले खाली हत्केला मतिर ल्याउँदै चर्को स्वरमा भन्यो, ‘परिचय पत्र ।’
‘भाइ, मैले बुझिनँ,’ मैले भनेँ । ‘तपाईंको परिचय,’ कमर्चारीले फेरि भन्यो, ‘तपाईंको परिचय पत्र दिनुस् ।’
‘परिचय पत्र भनेको के हो ?’ मैले सोधेँ ।
‘म यो मनी अर्डर साटेर पैसा दिन सक्दिनँ । पहिले तपाईंको परिचय पत्र हेर्नुपर्छ । त्यसमा तपाईंको नाम र ठेगाना हुन्छ । परिचय पत्रले तपाईंको परिचय दिन्छ । त्यहाँ तपाईंको फोटो हुन्छ । तपाईं को हो ? म तपाईलाई चिन्दिनँ,’ कर्मचारी अलि रिसाएको थियो । मलाई पनि रिस उठिसकेको थियो ।
‘म को हुँ सबैजनाले मलाई चिन्छन् । म मिन्टा गाउँको आदम हुँ । मेरो परिचय पत्र छैन र चाहिँदैन पनि,’ मैले भनेँ ।
‘ए बुढो मेरो धेरै काम छ,’ कर्मचारीले भन्यो,‘तपाईं को हो ? कहाँ छ मिन्टा ?’
‘मलाई मेरो पैसा दिनुस् । मेरो एक सय पाउन्ड दिनुस्,’ मैले भनेँ ।
कर्मचारीले रिसाउँदै भन्यो, ‘परिचय पत्र देखाउनुस् । म तपाईंलाई चिन्दिनँ ।’ उसले मनी अर्डर मलाई फिर्ता दियो र उता फर्कियो ।
‘परिचय पत्र कहाँ किन्न पाइन्छ ?’ मैले कर्मचारीलाई सोधेँ । उसले केही पनि उत्तर दिएन । लाइनमा उभिरहेको एकजनाले भन्यो, ‘गृह मन्त्रालय जानुस् ।’ उसले मलाई मन्त्रालय पुग्ने बाटो पनि बताइदियो ।
परिचय पत्र
म गृह मन्त्रालय गएँ । अर्को लाइनमा उभिएँ । त्यहाँको कर्मचारीसँग कुरा गरेँ । उनीसँग परिचय पत्र मागेँ । कर्मचारीले भन्यो, ‘यो फारम भर्नु अनि तीनवटा फोटो र दुई पाउन्ड पैसा लिएर भोलि आउनू ।’
‘भोलि ? होइन हजुर आजै बनाइदिनुस् न । म मिन्टामा बस्छु । डारपुरबाट पाँच घन्टाको बाटो छ । बुढो मान्छे हुँ,’ मैले भनेँ ।
‘भोलि आउनुस्, भोलि’ यति भन्दै कर्मचारी अर्कोतिर फर्कियो ।
म गृह मन्त्रालयबाट बजारतिर लागेँ । बजारमा पुगेर सबैलाई हेर्न थालेँ । गाउँको कोही मान्छे भेटिन्छ कि भनेर खोज्न थालेँ । तर, कसैलाई भेट्न सकिनँ । कसैलाई नभेटेपछि रिकको पसलतिर गएँ । परिचय पत्रबारे रिकसँग कुरा गरेँ । मलाई मेरो तीनवटा फोटो पनि चाहिन्छ भनेर रिकलाई भनेँ ।
‘अँ मैले बुझेँ,’ रिकले भन्यो । र, उसले मलाई फोटो स्टुडियो देखाइदियो । फोटो स्टुडियो पत्ता लगाएँ । फोटो खिच्ने मान्छे सुतिरहेको थियो । मलाई देख्नेबित्तिकै ऊ उठेर मेरो नजिक आयो । उसको लुगा फोहोर थियो र ऊ निकै थकित देखिन्थ्यो ।
‘परिचय पत्र बनाउन तीनवटा फोटो चाहिएको छ,’ मैले भनेँ ।
‘तिन्टा फोटो ? ए हुन्छ हुन्छ, म धेरै राम्रो फोटो खिच्छु । मेरो क्यामेरा हेर्न आउनुस्,’ म उसको पछि लागेँ । कोठाको बीचमा ठूलो क्यामेरा थियो ।
‘डारपुरको सबैभन्दा राम्रो क्यामेरा हो यो । यो धेरै राम्रो क्यामेरा हो,’ गर्वका साथ फोटो खिच्ने मान्छेले भन्यो ।
‘मैले क्यामेरा कहिल्यै देखेको छैन । क्यामेराबारे मलाई थाहै छैन । लु लु छिटो फोटो खिच्नुस्,’मैले भनेँ ।
‘नअत्याउनुस् ए बुढा । म कलाकार हुँ,’ फोटो खिच्ने मान्छेले भन्यो । त्यसपछि उसले मलाई ऐना र काइँयो दियो ।
‘मलाई ऐना र काइँयो चाहिँदैन । पहिला मेरो फोटो खिचिदिनू । म आजै मिन्टा फर्किनु छ । मलाई हतार छ,’ मैले भनेँ ।
‘हजुर,’ उसले भन्यो, ‘पहिला पैसा दिनुस् । डारपुरको सबैभन्दा राम्रो क्यामेरा हो यो र म डारपुरको सबैभन्दा राम्रो फोटो खिच्ने मान्छे हुँ । तीनवटा फोटोको अढाई पाउन्ड लाग्छ ।’
‘अढाई पाउन्ड !’ मैले फिस्स हाँस्दै सोधेँ ।
‘हो, अढाई पाउन्ड । अहिले नै दिनुस्,’ फोटो खिच्नेले भन्यो ।
मलाई फोटोको भाउ थाहा थिएन । म के गर्न सक्थेँ र ?
फोटो खिच्नेले फेरि भन्यो, ‘तपाईं बूढो मान्छे भएकाले दुई पाउन्डसम्ममा गरिदिन्छु ।’ मैले दुई पाउन्ड उसलाई दिए र उसले फोटो खिच्यो । ‘भोलि बिहान आउनू,’ फोटो खिच्नेले भन्यो ।
‘फोटो अहिले नै चाहिन्छ,’ मैले भनेँ ।
‘कस्तो पाखे बूढा रैछ,’ फोटो खिच्नेले भन्यो, ‘फोटो बनाउन २४ घन्टा लाग्छ । भोलि आउनू भोलि ।’ ‘हुन्छ । भोलि बिहानै आउँछु,’ म के गर्न सक्थेँ र ? उसको कुरामा सहमति जनाएँ ।
‘अहिले गइहाल्नू । मेरो धेरै काम छ,’ फोटो खिच्नेले भन्यो ।
म बसपार्कतिर लागेँ । तीन घन्टासम्म बसमा चढेर, १५ किलोमिटर हिँडेर गाउँ आएँ । रात परिसकेको थियो । म धेरै थाकेको थिएँ । श्रीमती र केही गाउँले साथीहरू मलाई पर्खिरहेका थिए ।
‘खै त पैसा ?’ श्रीमतीले सोधिन् ।
‘पैसा छैन । मनी अर्डर साट्न सकिनँ । पहिला परिचय पत्र चाहिने रहेछ ।’ मैले श्रीमतीलाई सबै कुरा बताएँ ।
‘भोलि फेरि डारपुर जान्छु,’ मैले भनेँ ।
त्यसपछि धेरै बोलिनँ । धेरै थाकेको थिएँ । रात पनि धेरै बितिसकेको थियो । राति अबेर ओछ्यानमा गएँ र निदाएँ ।
फोटो
बिहान अलि अबेला उठेँ । घाम निकै माथि पुगिसकेको थियो । मूल सडकमा पुगेर डारपुर पुग्ने बस चढ्न भ्याइएन । डारपुर पुग्ने बसहरू सबै बिहानै छुट्छन् । त्यसैले म बुधबारको दिन घरमै बसेँ । म अझै थाकेकै थिएँ ।
आराम गर्दै गाउँलेहरूसँग मनी अर्डरको बारेमा कुराकानी गरेँ । परिचयपत्र र फोटो खिच्ने मान्छेको बारेमा सबै सुनाएँ ।
‘कर्मचारीको कुरा ठीक छ । हुलाक कार्यालयमा परिचयपत्र त देखाउनुपर्छ नि,’स्कुलको मास्टरले भन्यो । परिचयपत्र माग्ने फाराम मास्टरले भरिदियो ।
बिहीबार म फेरि मूलसडकसम्म हिँड्दै गएँ र बस चढेर डारपुर पुगेँ ।
डारपुरमा पुगेर फोटो स्टुडियोमा गएँ । ढोकामा ढकढक गरेँ । ढोका कसैले खोलेन । मैले फेरि लौरोले ढोका बेस्सरी ढकढक गरेँ । एउटी महिलाले ढोका खोलिन् ।
‘को हो तपाईं ? के चाहियो ?’ उनले सोधिन् ।
‘मेरो फोटो लिन आको,’ मैले भनेँ ।
‘फोटो रे ? मसँग कुनै फोटो छैन,’ ती महिलाले भनिन् ।
‘मंगलबार म यहीँ आएको थिएँ । फोटो खिच्ने मान्छे कहाँ छ ?’ मैले सोधेँ ।
‘बाहिर गयो । यहाँ छैन,’ यति भन्दै महिलाले बेस्सरी ढोका बन्द गरिन् ।
‘म फोटो खिच्नेलाई यही पर्खेर बस्छु,’ चिच्याउँदै महिलालाई भनेँ ।
धेरै बेरपछि फोटो खिच्ने मान्छे आइपुग्यो । ऊ थकित अनुहारमा थियो र उसको शरीरबाट रक्सीको गन्ध आइरहेको थियो ।
‘खै मेरो फोटो दिनुस् । तपाईंलाई कत्रो बेर कुरेँ,’ मैले भनेँ ।
‘ए बूढा ! को हो तपाईं ? म तपाईंलाई चिन्दिनँ । कुन फोटोको कुरा गरेको ?,’ फोटो खिच्ने मान्छेले मलाई हेर्दै भन्यो ।
‘मंगलबार परिचयपत्रका लागि तीनवटा फोटो खिचेर दुई पाउन्ड पैसा दिइसकेको छु । कि फोटो दिनुस्, कि पैसा दिनुस्, छिटो,’ मैले रिसाउँदै भनेँ ।
‘फोटो रे ? पैसा रे ? के कुरा गरेको ?,’ फोटो खिच्नेले भन्यो, ‘पैसा तिरेको बिल देखाउनुस् ।’
‘बिल रे ?’ मैले सोधेँ ।
‘हो, पैसा तिरेको बिल कहाँ छ खै ?’ फोटो खिच्नेले भन्यो ।
‘तपाईंले बिल नै दिनुभएको थिएन,’ मैले ठूलो स्वरले भनेँ, ‘तुरुन्तै कि फोटो दिनुस्, कि पैसा दिनुुस् ।’ त्यसपछि मैले जोडले लौरोले फोटो खिच्ने मान्छेलाई कुटेँ । म बूढो भए पनि अझै बलियो छु ।
फोटो खिच्ने मान्छे भुइँमा लड्यो । गुहार ! गुहार ! भन्दै चिच्याउन थाल्यो र भन्यो, ‘यो बूढोले मलाई मार्न लाग्यो, गुहार गुहार !’ मैले फेरि जोडले उसलाई हिर्काएँ ।
घरघरबाट धेरै मान्छेहरू निस्किए । लौरोले फोटो खिच्नेलाई फेरि हिर्काएँ । दुईजना मान्छेले मलाई समाए । उनीहरूबाट म फुत्किन सकिनँ । फोटो खिच्ने मान्छे धेरै रिसाएको थियो र म पनि धेरै रिसाएको थिएँ । धेरै मान्छेहरूले होहल्ला गर्न थाले । त्यसपछि प्रहरी आइपुग्यो । प्रहरीलाई फोटो खिच्नेले चिच्याउँदै भन्यो, ‘यो बूढोले मलाई तीनपटक लौरोले कुट्यो । यो बूढो चोर हो र ज्यानमारा पनि हो । उसले मेरो पैसा लैजान खोज्यो ।’
पुलिसले मेरो पाखुरा समायो र भन्यो, ‘मसँग पुलिस ठाना हिँड्नुस् ।’ मैले केही भनिनँ । हामी पुलिस ठाना पुग्यौँ । त्यहाँ पुगेपछि पुलिसले मलाई सोध्यो, ‘त्यो मान्छेलाई तीनपटक कुटेको हो ?’
‘हो,’ मैले भनेँ, ‘उसले मेरो फोटोहरू दिएन ।’
प्रहरीले भन्यो, ‘परिचयपत्र देखाउनुस् ।’
‘म मिन्टा गाउँको आदम हुँ, मैले उत्तर दिएँ, ‘मेरो परिचयपत्र छैन ।’
‘ए बूढो,’ पुलिसले भन्यो, ‘आफ्नो गाउँ जानुस् । यता झगडा गर्न नआउनुस् । आइन्दा डारपुर नआउनुस् ।’ यति भनेर पुलिसले मलाई ठानाबाट थकेल्दै निकाल्यो ।
त्यसपछि म गाउँ फर्कें ।
म धेरै थाकेको थिएँ र रिसाएको पनि थिएँ ।
भोलिपल्ट बिहान गाउँलेलाई सबै कुरा सुनाएँ । गाउँलेहरू रिसाए । श्रीमती धेरै दुःखी भइन् । उनले भनिन्, ‘हाम्रो छोराले धेरै मिहिनेत गरिरहेको छ । उसले पठाएको पैसा हामीले पाउन सकिरहेको छैन । अब के गर्ने ?’
साँझ स्कुलको मास्टर फेरि हाम्रो घर आइपुग्यो ।
‘आदम, सायद म तपाईंलाई सहयोग गर्न सक्छु,’ मास्टरले भन्यो, ‘यो चिठी मिस्टर शेथका लागि हो ।’
‘मिस्टर शेथ ?’ मैले भनेँ, ‘को हो यो मान्छे ?’
‘उनी डारपुरको ठूलो मान्छे हो र मेरो श्रीमतीको दाइको साथी हो,’ मास्टरले उत्तर दियो ।
‘यो चिठी तपार्ईंको मनी अर्डरको बारेमा मिस्टर शेथका लागि लेखेको हुँ । सायद उनले सहयोग गर्न सक्छन् ।’ मैले चिठी लिएँ र धन्यवाद भनेँ ।
शनिबार तेस्रोपटक म डारपुर गएँ । धेरै खोजेपछि बल्ल मिस्टर शेथको घर पत्ता लगाएँ । एकजना अग्लो मान्छेले ढोका खोल्यो ।
‘मिस्टर शेथसँग भेट्न मिल्छ ?’ मैले सोधेँ ।
‘अनि तपाईं को पर्नुभयो होला ?’ अग्लो मान्छेले सोध्यो ।
‘मिस्टर शेथका लागि मसँग चिठी छ,’ मैले उत्तर दिएँ ।
‘अँ, चिठी एकपटक हेर्न सकिन्छ ?’ मतिर हात बढाउँदै अग्लो मान्छेले भन्यो ।
‘चिठी यहीँ छ,’ यति भन्दै मैले चिठी गोजीबाट निकालेँ ।
‘तर मिस्टर शेथसँग भेट्नैपर्छ,’ मैले भनेँ ।
‘धेरै मान्छेहरू मिस्टर शेथसँग भेट्न चाहन्छन्,’ अग्लो मान्छेले भन्यो,‘उहाँ धेरै व्यस्त र महत्वपूर्ण मान्छे हुनुहुन्छ । मिस्टर शेथ अहिले यहाँ हुनुहुन्न । चिठी मलाई दिनुस्, उहाँले पछि पढ्नुहुन्छ ।’
मैले अग्लो मान्छेलाई चिठी दिएँ । त्यसपछि कुर्न थालेँ । एउटा ठूलो कालो कार आयो र त्यहाँबाट एकजना मान्छे निस्किएर घरभित्र पस्यो । धेरै बेरपछि अग्लो मान्छेले ढोका खोल्यो र भन्यो, ‘भित्र आउनुस् । मेरो पछिपछि आउनुस् ।’
म त्यो अग्लो मान्छेको पछिपछि गएँ । महँगो गलैंचा र ठूलो कुर्सी भएको विशाल कोठामा पस्यौँ । कोठामा अर्को मान्छे पनि थियो । ऊ रक्सी पिइरहेको थियो ।
‘उहाँ नै हुनुहुन्छ मिस्टर शेथ,’ अग्लो मान्छेले भन्यो ।
‘म मिन्टा गाउँको आदम हुँ,’ मैले उत्तर दिएँ ।
‘हो, मलाई थाहा छ,’ मिस्टर शेथले भन्यो ।
‘चिठी पाएँ । मलाई विश्वास छ, म तपाईंलाई सहयोग गर्न सक्छु । म मानिसहरूलाई सहयोग गर्न रुचाउँछु । बस्नुस् न,’ मिस्टर शेथले मुसुक्क हाँस्दै भन्यो । उसको लुगा नयाँ र चिटिक्क परेको थियो ।
‘धन्यवाद,’ मैले भनेँ ।
‘म तपाईंको मनी अर्डर हेर्न सक्छु ?’ मिस्टर शेथले सोध्यो । मैले मनी अर्डर गोजीबाट निकालेँ । मनी अर्डर एकदम फोहोर र पुरानो देखिन्थ्यो । मिस्टर शेथलाई दिएँ ।
‘यो मनी अर्डर एक सय पाउन्डको हो,’ मैले भनेँ, ‘मेरो छोराले विदेशबाट पठाएको ।’
मिस्टर शेथले पट्याएको मनी अर्डर खोलेर हेर्यो । ‘यो मनी अर्डर तपाईं साट्न सक्नुहुन्न,’ उसले भन्यो, ‘यसको मूल्य एक सय पाउन्ड होइन । यो मनी अर्डरको कुनै मूल्य छैन ।’
‘कुनै मूल्य छैन रे ! मूल्य नै छैन ?’ मैले झस्किँदै सोधेँ ।
मिस्टर शेथले फेरि मनी अर्डर हेर्यो ।
‘हो, मूल्य नै छैन । तपाईंको छोरालाई मनी अर्डरबारे थाहै रहेनछ । यस्तो मनी अर्डर हाम्रो देशमा चल्दैन,’ मिस्टर शेथले फेरि मनी अर्डर हे¥यो र भन्यो, ‘यो निकै पुरानो पनि छ । यसको म्याद पनि सकिसक्यो ।’
मैले केही पनि भनिनँ । मिस्टर शेथले मलाई मनी अर्डर फिर्ता दियो । मुसुक्क हाँस्दै मिस्टर शेथले भन्यो, ‘मलाई निकै दुःख लाग्यो । तपार्इं बूढो मान्छे हुनुहुन्छ । गाउँबाट धेरै टाढा आउनुभयो । तपाईं के पिउनुहुन्छ ? के खानुहुन्छ ?’
मलाई भोक लागेन । मिस्टर शेथ कोठाबाट बाहिर निस्किए र कफी र केही केक मेरा लागि लिएर आए । मैले कफी पिएँ ।
‘ए बूढा मान्छे,’ मिस्टर शेथले भन्यो, ‘म मानिसहरूलाई सहयोग गर्न रुचाउँछु । म धनी मान्छे हुँ । तपाईंको मनी अर्डर मलाई दिनुस् ।’
मनी अर्डर मैले मिन्टर शेथलाई दिएँ ।
‘हो, यो मनी अर्डरको कुनै मूल्य नै छैन,’ उसले फेरि भन्यो,‘तैपनि म तपाईंलाई सहयोग गर्छु । तपाईंका लागि म यो मनी अर्डर साट्छु । म तपाईंलाई केही पैसा दिन्छु ।’
मिन्टर शेथ कोठाबाट निस्कियो । केही बेरपछि त्यो अग्लो मान्छे कोठामा आयो । उसले मलाई एउटा खाम दियो ।
‘यो मिस्टर शेथको तर्फबाट हो । अब तपाईं जानुभए पनि हुन्छ,’ अग्लो मान्छेले भन्यो ।
म त्यो घरबाट निस्किएँ । बसपार्कतिर लागेँ । जाँदाजाँदै खाम खोलेँ, पैसा निकालेँ र गन्न थालेँ । त्यहाँ मात्र १० पाउन्ड रहेछ ।
मेरो एक्लो छोरो सौललाई सम्झेँ ।
मेरो छोराले मलाई एक सय पाउन्डको मनी अर्डर पठाएको थियो । मिस्टर शेथले मलाई मात्र १० पाउन्ड दियो ।
मैले आफूलाई फेरि बूढो र गरिब महसुस गरेँ ।
०००
(लेखक जुप (सन् १९३९) का अंग्रेजी भाषाका १० भन्दा बढी पुस्तक प्रकाशित छन् । उनका प्रायः पुस्तक अंग्रेजी सिक्न चाहनेहरूलाई लक्षित गरी लेखिएका हुन्छन् । साथै उनले जातीय भेदभावबारे लामो समय अध्ययनसमेत गरेका छन् । ‘म्याकमिलन रिडर्स’ले प्रकाशन गरेको उनको कथा राजु स्याङ्तानले अनुवाद गरेका हुन् ।)
0 Comments